काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद्मा दोस्रो वरियाता हुनेगरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा दोस्रो वरियातामा रहने गरी सहभागी हुन आग्रह गर्नुभयो । फोरमले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्दै शहरी विकास र स्वास्थ्य मन्त्रालय लिनेगरी ढिलोमा आइतबार बिहानसम्म सरकारमा सहभागी हुनेछ’, स्रोतले अन्नपूर्णसँग भन्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली-यादवबीचको कुराकानीमा फोरम अध्यक्षले आफ्नो पार्टीलाई परराष्ट्रसहित तीन मन्त्रालय दिन आग्रह गरेका थिए ।

यादवलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजी फोरमको संगठन संरचनामा आँचा आउन नदिन पनि तीनवटा जिम्मेवारी दिनुहोस् । फोरम संसदीय दलले आफूलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी वा तीनवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा सहमति गर्न अधिकार दिएको छ ।’

यसअघि परराष्ट्रसहित दुुई मन्त्रालय दिने गरी प्रधानमन्त्री ओलीले यादवलाई सरकारमा ल्याउन पहल गरेपनि फोरम सहभागी नभएपछि प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्री बनाएका थिए ।

पार्टी कार्यालय बालकुमारीमा बसेको फोरम संसदीय दलको बैठकले महत्वपूर्ण तीन मन्त्रालयबीना सरकारमा जान नहुँने निष्कर्ष निकालेको छ । फोरमका नेता एवं सांसद उमाशंकर अरगरियाले अन्नपूर्णसँग भने, ‘मन्त्री चयन गर्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिएका छौं ।’

उनले भने, ‘त्यो सबै अध्यक्षको स्वविवेकमा छाडेका छौं । शुक्रबार हामी सरकारमा जान सक्छौं ।’

महासचिव रामसहाय यादवले अध्यक्ष यादवलाई सकारमा सहभागिता सम्बन्धी निर्णय गर्ने अधिकार दिएको अवस्थामा आफूले थप केही नभन्ने बताए । सरकारमा जानेमा अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव रामसहाय यादव, नेतृ रेणुदेवी यादव, नेता मोहम्मद इस्तियाक रायन र उमाशंकर अरगरियाको नाम चर्चामा छ । अन्नपूर्ण पोस्ट बाट