(सुरेन्द्र भण्डारी)
झापा। जसले २५ वर्षसम्म निरन्तर एक रुपैयाँ पनि उपचार शुल्क नलिई बिरामीको अनवरत रुपमा सेवा ग¥यो आज उनै मृत्यु शैय्यामा छट्पटिरहेका छन् ।
उनी मात्रै होइन, उनकी श्रीमती पनि मृत्यु शैय्यामा छिन् । उनीहरु अहिले सहाराविहीन छन् । श्रीमानको भारतको शिलगढीमा रहेको आनन्दलोकमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मृगौलाले काम गर्न छाडेपछि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।
यो व्यथा हो नेपालमा रहेर स्वदेशफिर्ती अभियान चलाइरहेका भुटानी शरणार्थी नेता डा. भम्पा राईको । उनको आन्द्राको शल्यक्रिया गरिएको छ । उनको तीन दिनअघि शिलगढीस्थित आनन्दलोक हस्पिटलमा आन्द्राको शल्यक्रिया गरिएको थियो । उनलाई अहिले हाइपीडेन्सी युनिटमा राखिएको छ । डा. राईको हेरचाहका लागि किशोर राई आनन्दलोकमा रहेको बताइन्छ । उनी बिरामी भएको थाह पाएपछि किशोर डा. भम्पाको सहयोगका लागि आफै त्यहाँ पुगेको बताइएको छ ।
यता उनकी श्रीमती उर्मिला पनि गम्भीर विरामी परेकी छिन् । उनको अहिले बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृगौलाको डायलोसिस भइरहेको छ । आर्थिक अभावका कारण यो परिवार अहिले जीवनमरणको दोसाँधमा छ । १९९१मा भुटानबाट शरणार्थी बनेर नेपाल आएका राईले त्यस यता बिरामीको निरन्तर निःशुल्क सेवा गरे । त्यसबेला उनलाई पैसा केही होइन जस्तो लाग्थ्यो, अप्ठ्यारोमा परेकालाई साथ दिनु ठूलो धर्म हो– उनी सम्झन्थे । तर, अहिले उनी आर्थिक अभावकै कारण जीवनमरणको दोसाँधमा छन् ।
भुटानमा भएको आफ्नो सम्पत्ति शान, मान र दाम पनि एकैपटक छाडेर शरणार्थी बन्दै नेपाल आएका थिए । भुटानी शासकहरुले नेपाली माथि गरेको ज्यादति सहन नसकी उनी पनि १९९१मा झापाको कनकाई नदीको वगरमा आएर बसे । त्यसपछि उनी दमकस्थित भुटानी शरणार्थी शिविरमा पुगे । उनी दमकमा क्लिनिक नै चलाएर बसेका थिए । सबैलाई निःशुल्क उपचार गरिदिए, त्यो बेला उनी सबैका प्रिय थिए । नेपालको २६ बर्षसम्मको बसाईमा उनले कहिले पनि पैसालाई महत्व दिएनन् ।
श्रीमतीको पनि दुबै मृगौलाले काम गर्न छोडेपछि तनावमा रहेका डा. राईको आन्द्रामा समस्या भएपछि शल्यक्रिया गरिएको छ । श्रीमतीको मृगौला फेर्नलाई ६० लाख भन्दाबढी रुपैयाँ लाग्ने भएपछि उनी अहिले आर्थिक अभावले पिरोलिएका छन् । भुटानमा रहँदा भुटान सरकारका कन्स्लटेन्ट सर्जन हुन् उनी । बंगलादेशको ढाका विश्व विद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका डा. राई १९७५ सालदेखि चिकित्सा पेशामा संलग्न भए । सन् १९७९देखि भुटान सरकारको कन्सलटेन्ट सर्जनको रुपमा काम गरे । जब भुटानले नेपाली भाषीलाई लखेट्न शुरु ग¥यो, तब उनी भुटानीहरु बिरामी परे, उनीहरुलाई कसले हेर्छ ? भन्दै शरणार्थीको पछि लागेर नेपाल आए ।
७२ बर्षीय बृद्ध डाक्टर राईलाई कहिले पनि पुनर्वासको लोभले छोएन । अझै पनि भुटान नै सम्झन्छन् उनी । अहिले मृत्यु शैय्यामा रहे पनि भुटानीलाई स्वदेश फर्काउन चाहिरहेको उनकी श्रीमती उर्मिलाले बताइन् । श्रीमती बिरामी परेदेखि टुलुटुलु मात्र हेरिरहने डा. राई अचानक बिरामी परेपछि उनलाई स्थानीयले उपचारका लागि भारतको शिलगढी पुर्याएका थिए । विगत सात महिनादेखि उनकी श्रीमती मृगौला समस्याका कारण ओच्छ्यान छिन् । उनको हेरचाह छरछिमेकले गर्दै आएका छन् । डा. राईले भुटानी शरणार्थी स्वदेश फिर्ती संयोजन परिषद् (वीआरसीसी) स्थापना गरेर स्वदेश फिर्ती आन्दोलन चलाइरहे । उनी वीआरसीसीका अध्यक्ष समेत रहेका छन् ।
करिब सवा लाख मानिसलाई अढाई दशकमा उनले कैयौंपटक उपचार गरे । तर, उनी अहिले विरामी पर्दा सबैबाट टाढा छन् । १९८६मा भुटानमा जिग्मेसिंगे राजा भएपछि नेपाली भाषीमाथि अत्याचार भएको थियो । भुटानी नेपाली भाषीका अगुवा नेता टेकनाथ रिजाल सन् १९८८मा थिम्पूबाट लखेटिए । उनीसँगै राई नेपाली भाषी भुटानी नागरिकसहित नेपाल आएका थिए ।
न्यूरो सर्जन भएकाले उनले भुटानको दरबारमा रहेर सेवा गरेका थिए । उनले राज परिवारको समेत औषधि उपचार गर्न भ्याए । गोहाटी मेडिकल कलेजमा समेत अध्ययन गरेका डा. राईले नेपालमा रहेर धेरैपटक भुटानीलाई स्वदेश फिर्तीको आन्दोलन चलाए । आन्दोलनकै क्रममा उनी गम्भीर विरामी बनेपछि बेलडाँगी शिविरबाट बाहिर डेरा लिएर बस्छन् ।
उनको अहिले डेरा भाडा तिर्नेसम्म अवस्था छैन । डा. राईसहित नेपाली भाषी भुटानी अगुवा नेता रणबहादुर बस्नेत, दिलप्रसाद बस्नेत, भीम सुब्बा, हरिप्रसाद अधिकारी, एसपी सुब्बा, हरि क्षेत्री, टेकनाथ रिजाल नेपाल आएका थिए । आमाबुबासाथ नेपाल आएका डा. राईका आमा विष्णुमाया राईको २०५४ सालमा र बुबा आइतराज राईको ११ बर्षअघि निधन भएपछि परिवारमा उनीहरु दुई जना मात्र रहे ।
बिर्तासिटीमा उर्मिलाको उपचार
बिर्तासिटी अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतको अगुवाईमा अहिले डा. राईकी श्रीमती उर्मिलाको उपचार भइरहेको छ । अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले उर्मिलाको उपचारमा लाग्ने खर्चको व्यवस्थापन गर्दै हप्तामा दुईपटक उनको मृगौलाको डायलोसिस हुँदै आएको जानकारी दिएका छन् ।
अस्पतालमा उपचाररत् रहेकै बेला भेटिएकी उर्मिलाले भनिन्– श्रीमान् भारतको अस्पतालमा मृत्यु शैय्यामा रहँदा म यता विरामीले छट्पटाइरहेकी थिएँ । यस्तो अवस्थामा अस्पतालले औषधि उपचार गरेर तिर्नै नसक्ने गुन लगाएको छ । उनले उपचारमा संलग्न चिकित्सकसहित अस्पताल प्रशासनलाई धन्यवाद दिएकी छिन् ।



