विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानुन निर्माण गर्ने भएको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उमन्त्री पण्डितले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको ४ करोड रुपैयाँ रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पारे।
उनले उक्त रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताए। मन्त्री पण्डितले स्थानीय तहका प्रमुख पदका लागि ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरुले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेका पदमा कर्मचारी जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुग्ने उल्लेख गरे।
उनले स्वेच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रुपमा अहिलेसम्म २ हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरिसकेकाे जानकारी दिए।
मन्त्री पण्डितले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वाचित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राखे।
प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि आवश्यक प्रादेशिक लोकसेवा आयोग निर्माण भई सोहीअनुसार हुने बताउँदै उनले अहिले आवश्यक रहेका केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गरे। रासस










