विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकस्थित शरणार्थी शिबिर बेलडाँगीमा स्थानीय सरकारको निर्देशन बिपरीत शरणार्थी सम्बन्धि संयूक्त राष्ट्र संघीय उच्चायूक्त (यूएनएचसिआर)ले शरणाथीहरुलाइ हम्सेदुम्से सामुदायिक बनको जग्गामा कंक्रिट प्रयोग गरेर पक्की संरचना बनाइ रहेको पाईएको छ ।
स्थानीय सरकार दमक नगरपालिका, हम्सेदुम्से सामुदायिक बन र जिल्ला बन कार्यालय झापाको आग्रहलाइ अटेर गर्दै शिविरमा आफूखुसि शरणार्थीका कंक्रीटको प्रयोग गरेरे घर बनाइदिन थालेपछि यसले बिबाद शुरु भएको छ ।
हम्सेदुम्से सामुदायिक बनका उपाध्यक्ष नैनसिंह भण्डारीले बन क्षेत्रभित्र रहेको शरणार्थी शिबिरमा इटा, बालुवाको प्रयोग गरेर पक्की तथा कंक्रिट संरचना बनाउन नपाइने स्पष्ट उल्लेख भए पनि अटेर गरेर यूएनएचसिआरको निर्देशन र संलग्नतामा घर बनाउने काम भइरहेको जनाउनु भयो । यस बिषयमा आफूहरुले जिल्ला बन कार्यालय झापामा जानकारी गराए पश्चात यो रोक्नका लागि जिल्ला प्रशासन कार्यालय झापामार्फत आग्रह भएपनि यो नरोकिएको उहाँको भनाइ छ ।
एकलाखभन्दा बढि शरणार्थी बसोबास रहेको शिबिरबाट अधिकाँश शरणार्थी तेश्रो देश पुर्नबास भएको र अहिले करिब ४ हजार ५ सयमात्र शरणार्थी रहेको अवस्थाम खाली जमिनमा एकै ठाँउमा ब्यवस्थित रुपमा छाप्रो बनाएर राख्न आफूहरुले बारम्बार आग्रह गर्दा पनि कसैले नटेरेको सामुदायिक बन उपभोक्ता समितिको भनाइ छ । जंगलको जहाँ खालिठाँउ छ र बृक्षारोपण भइरहेको छ त्यहि पक्की घरहरु बनाउन थालिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरु आक्रोशित बनेकाछन् ।
स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एकीकृत योजना बनाएर शरणार्थीहरुको ब्यवस्थापन गर्नका लागि आफूहरुले आग्रह गरेको र तत्काल घरहरु बनाउने काम रोक्न भनेको जनाउदै अटेर गरेको भए यस बिषयमा फेरी जानकारी गराउने बताउनु भयो । उहाँले भन्नुभयो, हामीले त्यहाँ पक्की घर बनिरहेको बिषयमा जानकारी पाएपछि रोक्न निर्देशन दिइसकेका छौ, अझै बनिरहेको छ भने त्यो गलत रहेको छ, हामी रोक्छौ ।
आइतवार त्यहाँ धमाधम रुपमा घर बनाउने काम भइरहेपछि सामुदायिक बनका पदाधिकारी तथा पत्रकारहरुको टोली त्यहाँ पुगेको थियो । पत्रकारहरुसंग सामुदायिक बन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद बरालले सामुदायिक बनलाइ नियोजित रुपमा सखाप पार्ने काम भइरहेको आरोप लगाउनु भयो । आफूहरुको माग र स्थानीय सरकारको निर्देशन बिपरीत अहिले पनि यहाँ पक्की घरहरु बनाउने काम भइरहेको भन्दै यसले आफूहरु अचम्ममा परेको जनाउनु भयो ।
युएनएचसिआरले आफूहरुको बारम्बार मागलाइ बेवास्था गर्दै बन क्षेत्रभित्र पक्की संरचना बनाउदै आएको र दिनानुदिन बन क्षेत्र समेत मासिएको भन्दै यस बिषयमा गम्भिर नभए आफूहरु आन्दोलनमा उत्रनु पर्ने अवस्था आउने हम्सेदुम्से सामुदायिक बनका पदाधिकारीहरुले चेतावनी दिदै आएकाछन् । जिल्ला वन कार्यालय झापाले समेत यो कार्य रोक्न पहल गरेको र उक्त पत्र सम्बन्धित सरोकारवालाहरुलाइ आफूहरुले बुझाए पनि ध्यान नदिएको भन्दै दाहालले आफूहरु आन्दोलनमा उत्रनुको विकल्प अब नरहेको उनिहरुको भनाइ रहेको छ ।
शरणार्थी समन्वय इकाइका निर्देशक समेत रहनु भएका झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पक्की संरचना बनाउनु नहुने बताउदै यस बिषयमा तत्कालै अनुगमन गरिने बताउनु भयो । क्रकिटहरुको प्रयोग गर्न नपाइने प्रावधान रहेको विषयमा उहाँले आफूले तत्कालै यस बिषयमा बुझ्ने बताउनु भएको छ । जिल्ला वन कार्यालय झापाले जिल्ला प्रशासन कार्यालय झापालाइ यो विषयमा पठाएको पत्रबारे प्रमुख जिल्ला अधिकारी दाहालले अनबिज्ञता प्रकट गर्नु भएको छ ।










