(पार्थ मण्डल) झापा । अपहरण शैलीमा १३ बर्षीया बालिकालाई भारत लैजाने एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीया फरे परबतिया शेख रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
शेखलाई भारतीय प्रहरीको सहयोगमा किशनगञ्ज जिल्ला अन्तरगत गलगलिया क्षेत्रबाट पक्राउ गरी ल्याइएको वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए । साथै भारत लगिएका भद्रपुर ५ निवासी १३ बर्षीय बालिका अलिशा खातुनलाई उद्दार गरिएको उनले बताए ।
घटना विवरण अनुसार युवक शेखले गत चैत २७ गते बालिका खातुनलाई घरमा कसैलाई थाहा नै नदिई बजार घुमाउन लगिएको र घुमाउने क्रममा उनलाई भारतको विहार राज्यस्थित कटिहारतर्फ अपरण शैलीमा भगाएर लगेको पीडित परिवारजनले प्रहरीमा उजुुरी दिएका थिए ।
बालिका नेपालमा नभेटिको र भारत लगिएको थाहा पाएलगतै परिवारजनले घटना भएको झण्डै २ महिना बित्न लागेपछि जेठ ११ गते वडा प्रहरीमा लिखित उजुरी दिएको प्रहरीले जनाएको छ । सोही उजुरीको आधारमा भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्दार गरिएको जनाइएको छ । यता बालिकालाई परिवारजनको जिम्मा लगाइएको छ, भने युवकलाई वडा प्रहरी कार्यालय थप अनुसन्धानका लागि राखिएको प्रहरी निरीक्षक जवेगूले बताए ।










