विष्णुप्रसाद पोखरेल दमक । झापामा सडक डिभिजन कार्यालय दमक मार्फत बर्षौ अघि ठेक्का लिएर काम नगरेका निर्माण ब्यवसायीहरुले पक्राउ पर्ने डरले अलपत्र पारिएका काम धमाधम गर्न थालेको पाईएको छ । गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला कार्यालयहरुलाइ निर्माणको काममा ढिलाइ गर्ने र गुणस्तरहिन काम गर्ने निर्माण ब्यवसायीको लगत जिल्ला प्रशासन कार्यालय झापामा बुझाउन र आवश्यक परे पक्राउ पर्न निर्देशन दिएपछि जिल्लाका बिकास योजनाका कामहरु धमाधम हुन थालेको पाईएको हो ।

सडक डिभिजन कार्यालय दमकका डिभजिन प्रमुख एवं इन्जिनियर राजेशकुमार यादवका अनुसार आफ्नो कार्यालय मार्फत झापामा तीनवटा योजनाहरुमा ढिलासुस्ति भएको पाईएको छ । उहाँका अनुसार मेचीनगरको धाइजनको हडियाखोलाका पुल, गौरादह नगरपालिकाको सिस्नेखोलाको पुल र कन्काइ खोलामा पुल संरक्षणको काममा ढिलाइ भएको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यालय झापालाइ जानकारी गराइसकिएको पनि यादवले बताउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हडिया खोलाका पुल लामा÷मैनाचुली जेभिले २०६७ साल पुष २८ गते निर्माण सम्झौता गरेर काम अघि बढाउनु पर्ने रहेको थियो । म्याद थप गरेर २०७२ साल असार २४ गते सक्नु पर्नेमा अहिलेसम्म ५५ प्रतिशतमात्र काम भएको छ । शुरुवातको समयमा केहि काम अघि नबढेपनि पछिल्लो समयमा पनि केहि काम अघि बढेको बताइन्छ । यसको लागत ५ करोड ८७ लाख ५३ हजार रहेको छ ।

यसैगरी गौरादहको किस्ने खोलाको पुलको अवस्थामा पनि उस्तै रहेको छ । डिभिजन प्रमुख यादवका अनुसार रौताह÷सगरमाथा जेभि गाइघाटले २०६८ साल फागुन ५ गते निर्माण सम्झौता गरेको थियो । अहिलेसम्म यसको प्रगती ३५ प्रतिशतमात्र रहेको डिभिजन प्रमुख यादवले बताउनु भयो । २ करोड ७९ लाखको लागतमा निर्माण सम्झौता भएको पुल २०७० सालमा बनिसक्नु पर्ने थियो ।

यसैगरी अघिल्लो बर्ष बर्षादले कन्काइ पुलमा क्षति पुर्याउने अवस्था आएपछि यसको संरक्षणका काम गर्नका लागि १ करोड ४६ लाख ९३ हजारमा निर्माण सम्झौता भएकोमा यो काम समेत अत्यन्त ढिलाइ भएको जनाइन्छ । गत बर्ष असारमा नै सक्नु पर्ने काम अहिलेसम्म नभएको बताइन्छ । प्रवेस÷बशिष्ठ÷बस्नेत जेभिले निर्माण सम्झौता गरेको र यसको काम पनि सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकले जानकारी दिएको छ ।

डिभिजन प्रमुख यादवका अनुसार यि तिनवटै योजनाहरुमा निर्माण ब्यवसायीहरुले काम थालनी गरेकाछन् । अहिले धमाधम काम भइरहेको छ । अपेक्षाकृत रुपमा भने अझै पनि कामको गति भने नरहेको उहाँको भनाइ रहेको छ । अब अन्तिम पटक समय थप गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनु भयो ।

साना योजनाका निर्माण कम्पनीहरु सम्पर्क बिहिन यसैगरी सडक डिभिजन कार्यालय दमक मार्फत स साना कामको ठेक्का लिएका निर्माण ब्यवसायीहरु सम्पर्कमा नरहेकाले हिसावकिताव फरफारक गर्न समस्या भएको सडकल डिभिजन कार्यालय दमकका प्रमुख यादवले बताउनु भयो । उहाँका अनुसार पूर्व पश्चिम राजमार्ग र मेची राजमार्गको बिभिन्न ठाँउहरुमा मर्मत सम्भारको सम्झौता गरेर ७८ प्रतिशतदेखि ९५ प्रतिशतसम्म काम गरेका निर्माण ब्यवसायीहरु समेत अहिलेसम्म सम्पर्कमा आएकाछैनन् ।

मेची राजमार्गको मर्मत सम्भारको सम्झौता गरेको नागार्जुन कन्ट्रक्सनले ९० प्रतिशत काम सकेको तर अहिलेसम्पर्कमा नरहेको यादव बताउनु हुन्छ । यसैगरी अम्बिका÷गौरी जेभी, सिद्धार्थ निर्माण सेवा र सगरमाथा÷घिमिरे जेभिले लिएको काम पनि चित्त बुझ्दो नै रहेपनि आफै सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय झापामा उनिहरुको नाम पठाइएको डिभिजन कार्यालयको भनाइ छ ।