सरकारले काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी दिएसँगै झापाका २० ठेकेदारको विवरण गृहमन्त्रालयमा पठाइएको छ । झापाका विभिन्न स्थानमा कामको ठेक्का लिने तर लामो समयदेखि काम नगर्ने ठेकेदारको विवरण संकलन गरेर गृहमन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । प्रजिअ दाहालले भने– गृहमन्त्रालयमा २० वटा ठेकेदारको विवरण पठाएका छौं । काम गर्नलाई ठेक्का लिने तर काम नगर्नेहरुको विषयमा गहन अनुसन्धान शुरु भइसकेको छ– प्रजिअ दाहालले भने ।
जिल्ला प्रशासन कार्यालय झापाले केही दिन अघि सर्वपक्षीय छलफल गरेर ठेक्का लिने तर काम नगर्नेहरुको विषयमा गहन रुपमा विश्लेषण गरेको उनले जानकारी दिए । प्रजिअ दाहालले उनीहरुको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए । झापाका सानादेखि ठूला आयोजनाहरु समयमा सम्पन्न नगर्नेहरुको विवरण पठाइएको छ– प्रजिअ दाहालले भने । उनीहरुले समयमा काम नसक्नुको कारणबारे विश्लेषण पश्चात मात्रै गृहमन्त्रालयको आदेशमा पक्राउ गर्ने जनाइएको छ । हालसम्म झापाका कुनै पनि ठेकेदारलाई पक्राउ नगरिएको दाहालले बताए । यातायात क्षेत्रको सिण्डिकेटबिरुद्घ कडा रुपमा उत्रिएका गृहमन्त्री रामबहादुर थापा बादल निर्माण व्यवसायीमाथि पनि खरो रुपमा उत्रिएका छन् । गृहको आदेशमा समयमा काम नसिध्याई अलपत्र पारेको भन्दै देशका विभिन्न स्थानबाट निर्माण व्यवसायीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले बुझाएको विवरण अनुसार अहिलेसम्म विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायी मध्ये केहीले मात्र समयमा काम सम्पन्न गरेको देखिएको छ । निर्माण ठेकेदारले समयमा नै काम सम्पन्न नगरेको रेकर्ड गृहमा गइसकेको स्रोतले बताएको छ । अब त्यस्ता ठेकेदारमाथि सरकार कडा रुपमा उत्रिने जनाइएको छ ।










