गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।
उनले गृह मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।
गृहमन्त्री थापाले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् ।
त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ ।
उनले भने,‘यातायातसम्बद्ध समितिहरूको दर्ता र नवीकरण रोक्ने निर्णय गरियो, जसले लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य भयो ।’
उनले सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताए ।
सनम शाक्य हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयको सहसचिव नेतृत्वको छानबिन समिति गठन र सुन ततस्करीको संगठित जालो तोड्न सफल भएको उनको भनाइ छ ।
मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।










