कायम मुकायम रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारीस भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई सिफारिस गरेको हो ।
कानुन मन्त्री शेरबहादुर तामाङले परिषद्को बैठकले जोशीको नाम सिफारीस गरेको बताए । उनले अब गठन हुने संसदिय समितीले अनुमोदन गरेमा जोशी प्रधानन्यायाधीश नियुक्त हुने बताए ।
‘परिषद्बाट जोशी जीको नाम सिफारीस भएको छ, संसदिय समितीले अनुमोदन गरेपछि नियुक्ती प्रक्रिया सुरु हुनेछ,’ मन्त्री तामाङले भने ।
न्याय परिषद्ले सिफारीस गरेका सर्वोच्चका वरिष्ठतम तीन न्यायाधीशमध्येका वरिष्ठ जोशी प्रधानन्यायाधीश सिफारीस भएका हुन् ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा पछि गत चैत ५ मा जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हालेका थिए । जोशी सर्वोच्चको न्यायाधीशमा २०७२ फागुन १८ मा नियुक्त भएका हुन् ।










