सुवास सुबेदी
बि.सं. २००७ मा प्रजातन्त्र प्राप्ति भएपछि नेपाली कांग्रेसले सरकार चलायो। प्रजातन्त्र प्राप्ति मा नेपाली कांग्रेसको जुन मुख्य श्रेय छ, त्यसलाई सलाम छ। तर जुन तरिकाले मुलुक समृद्धिको बाटोमा जानुपर्थ्यो त्यो हुन नसकेपछि राजा महेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिए र विकासका कामहरु पनि गरे। नेपालको भौगोलिक , आर्थिक , बौद्धिक सबै कुराहरुलाइ हेरेर उत्कृष्ट बैज्ञानिक रूपमा विकासक्षेत्र, अञ्चल, जिल्ला मा बिभाजित गरि राजधानी लाई गाउँ सम्म विकसित गर्ने योजना बनाए।
कांग्रेसको सर्वाधिक महत्त्वपूर्ण मिसन प्रजातन्त्र ल्याउनु थियो , त्यसलाई कांग्रेसले सार्थक बनाइछाड्यो तर समृद्धि उ बाट सम्भव थिएन र गर्न सकेन पनि। एकतन्त्रीय पन्चायती व्यवस्था र कांग्रेसको असफलताले नेपालमा कम्युनिस्टको उदय गरायो।
सामाजिक विभेदले कम्युनिस्टको सफलता लाई खुराक दिइनै रह्यो । कम्युनिस्टको प्रमुख उदेश्य नेपालमा गणतन्त्र ल्याउनु थियो।
निकै हिंसात्मक एवं शान्तिपूर्ण आन्दोलन हरु पश्चात २०४६ सालमा पन्चायती व्यवस्था अन्त्य भै बहुदलीय प्रजातन्त्र प्राप्ती भयो, केही कम्युनिस्टले प्राप्त उपलब्धि मा टेकेर संसद मार्फत नै प्रजातन्त्र संस्थागत गर्दै लैजाने निर्णय गरे भने केही कम्युनिस्ट हरुले संसदीय व्यवस्था अंगाल्ने कम्युनिस्ट हरुलाइ लम्पसारवादी भन्दै गणतन्त्र प्राप्तिको निम्ति सशस्त्र लडाइँ को उद्घोष गरे , जो माओवादी भनी चिनिए। एमालेका दुइ प्रमुख नेता मदन भण्डारी र जीवराज आस्रित को रहस्यमय दुर्घटनामा मृत्यु भएसंगै माओवादी लडाइँ देशैभर सल्किदै गयो। एमाले पनि मुलुकलाइ समृद्धि तर्फ लैजान असफल रह्यो।
२०५८ मा राजा विरेन्द्रको बंश विनास पछि राजा बनेका ज्ञानेन्द्र ले आफ्ना बाबू महेन्द्रकै शैलीमा संसद विघटन गरेर नेताहरूलाई नजरबन्द मा राखेर कु गरेपछी झन्डै एक दशकको रक्तपात पुर्ण जनयुद्ध ले पनि सुरक्षित अवतरण गर्ने अवसर पायो। ६२ , ६३ को वृहत् जनआन्दोलन को बलमा देशलाई धर्म निरपेक्ष र गणतान्त्रिक देश घोषणा गरियो।
बहुदल प्राप्तिमा एमालेले खेलेको भुमिका र गणतन्त्र प्राप्ति मा माओवादी ले खेलेको भुमिका प्रमुख रह्यो । यद्यपि सबै दल हरुको भुमिका कदापि गौण रहन सक्दैन। तमाम परिवर्तनकारी शक्ति हरुलाइ नमन अवश्य गर्नुपर्छ ।
संविधानसभा का दुई चुनाव पछि देशले नयाँ संविधान प्राप्त गरेको छ र त्यसैलाई संस्थागत गर्न स्थानिय र संघिय चुनाव समेत भैसकेका छन। हरेक दलले आफ्नो आफ्नो उत्पतिको उदेश्य पूरा गरेका छन तर समृद्धिको चरणमा मुलुकलाइ प्रवेश गराउने उदेश्य लाई प्रमुख मिसन बनाएर सात दशकको इतिहासमा कुनै पनि दल आएनन। दलहरु राजनैतिक परिवर्तन हरुमै अल्झिनु पर्यो।
दुई महान परिवर्तनको नेतृत्व गरेका एमाले र माओवादी को मिश्रण पछि अब प्रमुख शक्ति को रुपमा नेकपाको उदय भएको छ। संसदमा दुई तिहाई उपस्थिति सहित इतिहासकै सर्वाधिक बलियो सरकार को नेतृत्वले मुलुकमा समृद्धि आउला कि भनी सबैले आशा गरेका छौं, तर मिति गुज्रिएको औषधिले रोग निको पार्न सक्छ र भनि शंका गर्ने ठाउँ रहेजस्तै पुरानै चरित्रका दलहरू मार्फत देश समृद्ध बन्न सक्ला र भनि शंका गर्ने आधार हरु प्रसस्त रहेका छन, अबको पाच बर्षमा समृद्धिको पर्याप्त आधारहरु नदेखिए वैकल्पिक शक्तिलाइ जनताले चुन्नुपर्ने कुरामा दुइमत नहोला।
अब समृद्धि को मिसनलाइ पूरा गर्नुपर्ने भएकोले बर्षौ अगाडिकै राजनैतिक संस्कार बोकेका दलहरु मार्फत त्यो सम्भव देखिएन। त्यसैले नयाँ परिवर्तनकारी वैकल्पिक दलको आवश्यकता देखियो जसको मुख्य मिसन नै समृद्दी रहोस।
त्यो वैकल्पिक शक्ति को बन्न सक्ला त!
नयाँ संविधान प्राप्ती पछिको पहिलो स्थानिय निर्वाचन बाट आफ्नो उपस्थिति जनाएका विवेकशील साझा पार्टी अबको परिवर्तनको मुख्य नेतृत्व बन्नसक्ने सम्भावना बढ्दै गएको बुझ्न सकिन्छ। स्थानीय निर्वाचन मा काठमाडौ, झापा ,सुनसरी र बारा जस्ता केही स्थानमा उम्मेदवारी दिएर राजनीति मा आफ्नो उपस्थिति जनाएका यी पार्टी एक भएर प्रदेश /प्रतिनिधि सभामा भाग लिदा २ लाख १२ हजार बढी समानुपातिक मत ल्याउनु र प्रदेश नं ३ मा ३ जना संसदको प्रदेशसभामा उपस्थिति जनाउनुले देशलाइ समृद्धि तर्फ लैजाने अवको वैकल्पिक शक्तिको उदय भएको हो कि भनि बौद्धिक जगतमा निकै चर्चा हुने गरेको पाइन्छ।
हरेक युगमा फरक उदेश्य को निम्ति फरक पार्टीले नेतृत्व लिएका उदाहरण हरुलाइ समेत मध्यनजर गर्दा अब विवेकशील साझा पार्टी मार्फत नै मुलुकले समृद्धि प्राप्ति गर्न सक्छ त भन्ने प्रश्नको साथमा थोरै आशा पनि पलाएको छ।
( लेखक सुवास सुबेदी विवेकशील साझा पार्टीका तर्फ बाट गत स्थानिय चुनावमा दमकका मेयरका उमेद्द्वार थिए )



