युवराज ज्ञवाली
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपालकै इतिहासमा एक प्रभावशाली, एकीकृत राजनीतिक शक्तिका रूपमा नेपाल कम्युनिस्ट पार्टीको उदय भएको छ। यो उदय कतिपयका लागि अकल्पनीय, धेरैका लागि अपत्यारिलो र सानो संख्यामा रहेका राजनीतिक व्यक्तिका लागि अवश्यम्भावी थियो। यसअघिसम्म पनि दुवै पार्टी एकले अर्कालाई निषेध गर्नुमै आफ्नो अस्तित्व र उन्नतिको आधार देख्थे। खासगरी सशस्त्र द्वन्द्वकाल र शान्ति स्थापना एवम् गणतन्त्र स्थापनापश्चात्का निर्वाचन तथा सरकार परिवर्तनका कतिपय घटनामा एमाले र माओवादी केन्द्र आमनेसामने थिए। विभिन्न सन्दर्भमा यस्तो टकराव तीक्ततापूर्ण थियो। तर एकीकरणले यो पार्टीका लागि मात्र नभई आम नेपाली जनता र सिंगो राष्ट्रमा नयाँ उत्साह सिर्जना गरेको छ।
ऐतिहासिक अवसर
नेपालमा कम्युनिस्ट पार्टीबीचको एकता एक जबर्जस्त वस्तुगत आवश्यकता र सच्चाइका रूपमा विकास हुन पुग्यो। यी पार्टी मिलेर एउटै पार्टी बन्ने समय आउँछ भनेर चिन्तन गर्ने व्यक्ति कुनै बेला दुवै पार्टीमा निकै सानो संख्यामा थिए। निषेधको चरम विन्दुमा पनि कुनै दिन यी दुवै पार्टी मिलेर अघि बढ्ने समय आउँछ र त्यसका लागि निरन्तर प्रयत्न जारी राख्नुपर्छ भन्नेहरू पार्टीभित्रै प्रतिकूल स्थितिमा भए पनि निरन्तर सक्रिय थिए। नेकपा माओवादीको उदयदेखि दुई पार्टी एकीकरणको विन्दुसम्म आइपुग्दा भएका अनेकन् घटनाक्रम, उतार–चढाव र बहस–विवादका बीचमा एकताबद्ध पार्टी निर्माणको एजेन्डासम्बन्धी अन्तर्वस्तु अन्योन्याश्रित रहँदै आएको थियो। त्यसको बाह्य चर्चा र सुषुप्तपनको निर्धारण भने तत्कालीन परिस्थितिले गर्दै आएका थिए। कतिपयका लागि यो विषय सम्भव लाग्थ्यो त कतिपयका लागि विल्कुलै असम्भव। विगतमा धेरैले असम्भव ठानेको विषय यतिबेला सम्भव भएको छ। यो एकीकरण विश्वमै उदाहरणीय कम्युनिस्ट पार्टी निर्माणको अवसरका रूपमा स्थापित गर्न सकिने सम्भावना हो।
विश्वमै विशिष्ट घटना
विश्वमा पहिलोपटक पेरिसका मजदुरले विद्रोह गरी सत्ता कब्जा गरेका थिए। विडम्बना, विभिन्न वस्तुगत र आत्मगत परिस्थितिका कारण ७२ दिनपछि मजदुर वर्गको सत्ता प्रतिक्रियावादी वर्गको हातमा पुगेको थियो। मजदुरमाथि निर्मम दमनका क्रममा झन्डै एक लाख मानिसको हत्या भएसँगै पेरिस कम्युनको अन्त्य हुन पुगेको थियो। तैपनि त्यस आन्दोलनलाई ‘व्यवस्थित र संगठित रूपमा प्रयत्न गर्दै जाने हो भने श्रमजीवी वर्गले पनि राज्यसत्ता आफ्नो हातमा लिन सक्दो रहेछ’ भन्ने नयाँ चेतनाको विकास गर्यो।
पेरिस कम्युनका सकारात्मक र नकारात्मक पक्षबाट शिक्षा लिँदै विश्वभरका मजदुर तथा श्रमजीवी जनताले कम्युनिस्ट पार्टीको गठनसँगै अनेक संघर्षहरू अघि बढाउँदै गए। सोही क्रममा सन् १९१७ अक्टोबरमा सोभियत संघमा कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रव्यापी सशस्त्र विद्रोहद्वारा पहिलोपटक समाजवादी क्रान्ति सम्पन्न भयो। त्यसले विश्वमै समाजवादी नयाँ युगको सुरुवात गर्यो। त्यसैको प्रेरणाबाट विश्वभर कम्युनिस्ट पार्टीहरू सशक्त रूपमा अघि बढ्दै जाने क्रममा चीन, कोरिया, भियतनामलगायतका देशमा सशस्त्र संघर्षको माध्यमबाट कम्युनिस्टहरू सत्तामा पुगे। त्यसबेलाको परिस्थितिमा शान्तिपूर्ण उपायबाट अगाडि बढ्ने सम्भावना नभएका कारण हतियार उठाउनुको विकल्प थिएन।
अर्कोतर्फ विभिन्न देशमा बहुदलीय प्रतिस्पर्धाका आधारमा कम्युनिस्टहरू अगाडि बढ्दै जाने क्रममा एक समय फ्रान्स र जर्मनीको संसद्मा कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दलका रूपमा स्थापित भए पनि उनीहरूले आफ्नो अवस्थालाई लामो समय टिकाउन सकेनन्। दक्षिण अफ्रिकामा पनि बहुदलीय प्रतिस्पर्धाका आधारमा कम्युनिस्टहरूले राम्रो विजय हासिल गरेका थिए। त्यस्तै भारतको पश्चिम बंगाल, केरला र त्रिपुरामा कम्युनिस्टहरूले बहुमत हासिल गरी लामो समय प्रान्तीय सरकार सञ्चालन गरे, तर त्यहाँ पछिल्लो समयमा आएर पराजयको शृंखला बढ्यो। विश्वका अन्य तमाम मुलुकमा यस किसिमका अभ्यास नभएका होइनन्।
नेपालमा २०५१ सालमा नेकपा एमालेले संसद्मा सबैभन्दा ठूलो दलका रूपमा विजय हासिल गरी नौ महिनासम्म अल्पमतकै भए पनि एकल सरकार सञ्चालन गर्नुका साथै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा एक्लै ६० प्रतिशत स्थानमा विजय हासिल गर्न सफल भएको थियो। अहिले आएर संघीय संसद्मा कम्युनिस्ट पार्टीले झन्डै दुईतिहाई मत प्राप्त गरी केन्द्रीय सरकार बनाएको छ भने स्थानीय तह र प्रदेशसभामा उल्लेख्य बहुमत प्राप्त गरी सरकार गठन गर्न सफल भएको छ।
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा, बहुदलीय प्रतिस्पर्धाको आधारमा र लोकतान्त्रिक व्यवस्थाअन्तर्गत रहेर यति ठूलो जनमत हासिल गरेको यो पहिलो घटना हो। कम्युनिस्टहरूको बहुमत आउनबाट रोक्नका लागि आन्तरिक र बाह्य अनेक प्रयत्न नभएका होइनन्, तर पनि जनताको विश्वासमा आधारित भएको हुनाले यो परिणामलाई कसैले रोक्न सकेन।
नवगठित पार्टीका नेता–कार्यकर्ताहरूको संस्कार, संस्कृति र मूल्य–मान्यतामा रूपान्तरण आउनु जरुरी छ।
हतियार र युद्धमा आधारित राज्य निर्माण र सञ्चालनको युगका रूपमा रहेका अघिल्ला शताब्दीमा सत्ताको नेतृत्वदायी तहमा पुग्नका लागि युद्धमा विजय हासिल गर्नुको विकल्प थिएन, तर आजको शताब्दीमा शान्तिपूर्ण प्रयत्न र जनमतका आधारमा लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुग्ने र समाज रूपान्तरणको अभिभारा पूरा गर्न सकिने परिस्थिति तयार भएको छ। जुन–जुन देशमा यस किसिमको सम्भावना छ, त्यहाँ नयाँ तरिकाले क्रान्तिको प्रक्रियालाई अगाडि बढाउँदै समाजवादको लक्ष्य हासिल गर्न सकिन्छ। नेपाली राजनीतिको यो परिघटनाले विश्वका कम्युनिस्टहरूलाई नयाँ ऊर्जा दिन सक्छ। यो सफलता नेपालको मात्र नभई विश्व कम्युनिस्ट आन्दोलनका लागि नै नयाँ सम्भावनाको सुरुवात हो।
जनविश्वास
कुनै पनि देशको विकास, निर्माण, समृद्धि र राजनीतिक सफलताका लागि आम जनताको सहयोग र समर्थन सबैभन्दा महŒवपूर्ण पक्ष हो। नेपाली जनताले विश्वलाई नै चकित पार्ने गरी स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिस्टहरूलाई यति ठूलो समर्थन गरेका छन्। हरेक राम्रा काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताले नेपालमा कम्युनिस्टहरूलाई गर्नुपर्ने योभन्दा ठूलो साथ–समर्थन सायदै बाँकी होला। त्यस अर्थमा पनि अहिलेको सरकारबाट र खासगरी एकीकृत पार्टीबाट जनताले गरेको अपेक्षा स्वाभाविक रूपमा उच्च छ। एकीकरणले यो अपेक्षा र उत्साहलाई झनै बढाएको छ। जनस्तरमा देखिएको यो सुखद् र सकारात्मक ऊर्जा नेपाली कम्युनिस्टहरूका लागि आगामी दिनमा थप सफलताको आधार हो।
समृद्धिको स्पष्ट आधार
नेपाल कुनै बेला खाद्यान्नमा आत्मनिर्भर मात्र नभई विदेशमा निर्यात गर्ने देश हो। यहाँ खेतीयोग्य जमिनको कमी छैन। सिँचाइलगायतका अत्यावश्यक पूर्वाधारहरूको निर्माण, आधुनिक प्रविधिको प्रयोग, भूउपयोगको व्यवस्थित अभ्यास र बजार व्यवस्थापनको प्रभावकारी परिपाटी मिलाउन सके खाद्यान्नमा आत्मनिर्भर भई बर्सेनि अर्बौंको निर्यात गर्न सकिने सम्भावना छ। जलस्रोतको उपयोग गरी कृषि र ऊर्जा क्षेत्रमा उल्लेख्य विकास गर्ने मात्र नभई त्यसबाट उद्योग, पर्यटन, यातायातजस्ता क्षेत्रको आधुनिकीकरणमा पनि प्रभावकारी उपलब्धिहरू हासिल गर्न सकिने सम्भावना छ। नेपालमा जडिबुटीको विशाल भण्डार छ। यसको सदुपयोग गर्न सके औषधिमा आत्मनिर्भर बन्दै स्वास्थ्य क्षेत्रमा बाहिरिने पुँजी स्वदेशमै लगानी गर्न सकिन्छ। वन–जंगलको सदुपयोग एवम् खनिज पदार्थहरूको उत्खनन गर्ने हो भने हाम्रो आन्तरिक आर्थिक अवस्था सुदृढीकरणमा उल्लेख्य प्रगति गर्न सकिन्छ। ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति उहिल्यैदेखि नेपालमा स्थापित छ। हिमाल, पहाड र तराई तथा विभिन्न स्थानमा साना–ठूला उपत्यकाका कारण भौगोलिक विविधताले आकर्षण थपेको यो मुलुकमा प्रकृतिले दिएका सम्भावना अपार छन्। अर्कोतर्फ यहाँको जातीय र सांस्कृतिक विविधता, जनस्तरको आपसी एकता र सहिष्णुता र प्राचीन इतिहास एवम् सभ्यता यो देशको दिगो विकास र समृद्धिका लागि बलिया वस्तुगत आधार हुन्। मानवीय प्रयत्नले विकास र समृद्धिको सपनालाई सम्भव तुल्याउनु आवश्यक छ।
अनुकूल भूराजनीतिक अवस्था
नेपाल कहिल्यै पनि अर्को कुनै देशको अधीनमा नरहेको एउटा स्वतन्त्र मुलुकका रूपमा रहिआएको छ। यो नेपालीहरूका लागि निकै गौरवको विषय हो। उत्तरतिर विशाल, शक्तिशाली चीन र दक्षिणतर्फ भारतजस्तो मुलुकका बीचमा विविधतायुक्त सानो मुलुकको यो अवस्थितिका आफ्नै वस्तुगत अनुकूलता र प्रतिकूलता छन्। हामीले कुशलतापूर्वक राज्य सञ्चालनको परिपाटी विकास गर्न सक्ने हो भने दुवै छिमेकीको सहयोग र भीमकाय बजारलाई नेपालको हितमा प्रयोग गर्न सकिन्छ। अहिलेको विश्व व्यवस्थामा यी दुई छिमेकीमध्ये कुनैले नेपालमाथि प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने सम्भावना छैन। जुन–जुन कारणले आजसम्म प्रत्यक्ष हस्तक्षेप भएन, भविष्यमा पनि तिनै भूराजनीतिक कारणले नेपालको स्वतन्त्र अस्तित्वमाथि प्रत्यक्ष धावा बोल्न कठिन छ। तर परोक्षरूपमा र व्यवस्थापकीय पक्षमा नेपालका हरेक क्षेत्रमा प्रभाव पार्ने र नियन्त्रण कायम गर्ने प्रवृत्ति भने निरन्तर जारी छ। भविष्यमा पनि त्यो प्रक्रिया जारी रहने सम्भावनाप्रति सर्वप्रथम हामी आफंै सजग हुन जरुरी हुन्छ। अहिले दुवै देशसँगको सम्बन्ध अनुकूल अवस्थामा छ र यसलाई थप सुदृढ गर्दै नेपालको हितका पक्षमा उपयोग गर्ने रणनीतिका साथ यी छिमेकीसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्छ।
अहिलेसम्म नेपालको विकास निर्माण सम्बन्धमा विभिन्न देशहरूसँग गरिएका सम्झौता र सम्बन्धहरूलाई अझ मजबुत बनाउँदै लैजान सक्ने बलिया आधार विकास भएका छन्। राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठनसँगै यस्ता आधार अझ बलियो बनेका छन्। नेपालले आफ्नै स्रोत–साधन लगाएर सम्पन्न गर्न सुरु गरेका विभिन्न साना–ठूला योजनालाई समयमै कार्यान्वयन मात्रै गर्न सक्ने हो भने पनि हाम्रो विकास र समृद्धिको यात्राले फड्को मार्न सक्छ। त्यसबाहेक आन्तरिक पुँजी निर्माण र वैदेशिक ऋण एवम् अनुदानको प्रभावकारी सदुपयोग गरेर तिनलाई रणनीतिक क्षेत्रमा प्रयोग गर्ने परिपाटी विकास गर्न सक्ने हो भने आर्थिक वृद्धिका लागि राखिएका लक्ष्य प्राप्ति सहज हुनेछ। परिणामतः समृद्धिको हाम्रो यात्रा सम्भव हुन सक्छ।
पार्टी एकीकरणपछिको परिस्थितिमा देखा परेका सम्भावनालाई मध्यनजर गर्दै अगाडि बढ्नु अहिले पार्टी कार्यकर्ताको मूल कार्यभार हो। अहिलेसम्म जुन स्तरको चेतनाले नेपाली राजनीतिलाई यो ठाउँसम्म ल्याइपुर्यायो, अब त्योभन्दा उन्नत चेतनाको विकास आवश्यक छ। त्यसका लागि नवगठित पार्टीका नेता–कार्यकर्ताहरूको संस्कार, संस्कृति र मूल्य–मान्यतामा रूपान्तरण आउनु जरुरी छ।
–ज्ञवाली नेकपा स्थायी कमिटी सदस्य हुन्।
अन्नपूर्ण पोस्ट बाट



