विष्णुप्रसाद पोखरेल दमके । धान रोप्ने रोपारहरुको अभाव एवं कृषि मजदूर नपाएका कारण समस्या झेल्दै आएका झापाका किसानहरु धान रोप्ने नयाँ प्रविधि ‘ड्रम सिडर’ र ‘जिरो टिल सिड ड्रि«ल’प्रति आकर्षित हुन थालेकाछन् । धान रोप्ने यो प्रविधि झापामा पहिलो पटक यहि बर्ष भित्रिएको हो ।
प्रधानमन्त्री कृिष आधुनिकरण परियोजना धान सुपरजोन कार्यान्वय इकाइ झापाले यो प्रविधिको सफल परिक्षण एवं प्रयोग गरेपछि यसमा किसानाहरु आकर्षित हुन थालेको पाईएको हो । सस्तो पर्ने भएकाले किसानको पहुँच सहज रहेको र यसको प्रयोग समेत जो कोहिले गर्न सक्ने भएकाले प्रभावकारी हुने बताईएको छ ।
सुपरजोन कार्यान्वय इकाइका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार शुरुवातमा कोहि किसानले पनि यो प्रयोग गर्न नमानेपनि केहि दिनयता भने जिल्लाका अधिकाँश ठाँउहरुबाट यसको प्रयोगका लागि माग आइरहेको छ । जिल्लाका गाँउपालिका तथा नगरपालिकाहरुबाट समेत चासो दिइएको पाईएको उहाँले बताउनु भयो । यसको पहिलो प्रयोग धान सुपरजोज बनियानीमा गरिएको थियो ।
बरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाका अनुसार करिब २४ घण्टा भिजाएर धानको बिउलाई टुसाउनु पर्दछ । त्यसपछि नुनपानीमा हालेर यसको उपचार गरिन्छ । भुस माथि तैरिएपछि रोप्न योग्य विउमात्र रहन्छ । यसरी टुसाएको बिउलाई ड्रम सिडरमा हाल्ने र हिलो बनाएको बनाएको खेतमा ड्रम सिडरका माध्यमबाट छर्ने गरिन्छ ।
एक जनाले ड्रम सिडरलाई बिस्तारै तान्ने, यसरी तान्दा ड्रम घुम्ने गर्दछ र ड्रमको प्वालबाट एक÷एक बटा टुसाएको धानको बिउ हिलो खेतमा झर्दछ । धानको बिउ सानो आकारको छ भने सानो प्वालबाट र ठूलो आकारको छ भने ठूलो आकारको प्वालबाट झार्न सकिन्छ । बिउ झर्दा लाइनमा झर्ने भएकाले धान हुर्कदा आधुनिक मेशिनले रोपे जस्तै लाईनबद्ध हुने भएकाले काटन समेत सजिलो हुन्छ ।
यसरी छरिएको धान खेतमा झार आउन सक्ने भएकाले समयमा नै गोडमेल भने गर्नु पर्दछ । ड्रम सिडर स्थानीय गृल उद्योगहरुमा समेत बनाउन सकिने जनाइन्छ । यसको बजार मूल्य अहिले १० देखि १५ हजारमात्र रहेको बताईएको छ । यसमा सरकारले ५० प्रतिशत अनुदान दिदै आएको छ ।
धान बिशेषज्ञ डा. कैलाशप्रसाद भुडेरका अनुसार सिड ड्रिलले पनि ड्रम सिडरले जस्तै नै धान रोप्न सकिन्छ । नहिल्याएको खेतमा सुख्खा वा चिसो माटोमा सिधै सिड ड्रिल मेशिनबाट लाइनमा विउ र मल खसालिन्छ । हिल्याएर रोपाइ गर्नुभन्दा यसरी सिधै रोपिदा लागत खर्च कम हुने उहाँको भनाइ छ । यस मेशिनबाट धानमात्र नभएर मकै, गहुँ लगायतका अन्य यस प्रकारका वालि समेत रोप्न सकिने भएकाले प्रभावकारी रहेको भुडेरको भनाइ छ ।
कचनकवल ३ का किसान रामकुमार न्यौपानेका अनुसार काम गर्ने मान्छे नपाइदा आफ्नो खेत बाँझै रहने अवस्था आएको थियो । यो मेशिनको बारेमा सुनेपछि आफूले गएर बुझेको र राम्रो लागेर प्रयोग गर्ने ईच्छा जनाएपछि अहिले १ बिगाहभन्दा बढि जग्गामा यसरी न धान रोपेको जनाउनु भयो ।
वाली विशेषज्ञ सागर काफ्लेका अनुसार ड्रम सिडरको प्रयोगले धान रोप्दा लाग्ने लागत मूल्य ५० देखि ७० प्रतिशतसम्म कम गर्दछ । यसमा ब्याड बनाएर विउ राख्नु पर्दैन भने रोपारहरु समेत चाइदैन । १ देखि बढिमा २ जनाले हिल्याएको १ विगाह जमिनमा ४ घण्टामा धान रोप्न सकिन्छ । परम्परागत रुपमा धान रोप्दा एक बिगाह धान रोप्नका लागि कम्तिमा पनि २० जना रोपारहरु चाहिने गर्छ । विउ काडनका लागि थप ४ जना भन्दा बढि चाहिन्छ ।










