विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकका सबै दश वटा वाडहरुलाइ जोड्ने दमक चक्रपथको कालोपत्रे निर्माण कार्यमा लापरवाही भएको पाईएको छ । सम्भावित रणनीतिक सडक अन्र्तगत निर्माणाधिन रहेको चक्रपथको कालोपत्रे कतै ६ महिना बित्न नपाउदै भत्केको र कतै सडक नै भासिएको पाईएको हो ।

दमक नगरपालिकाले दूइ दशक अघिदेखि आफ्नो महत्वपूर्ण योजनाको रुपमा अघि सारेको दमक चक्रपथ निर्माणको काम तीन बर्षयता तिब्र रुपमा भइरहेको छ । यस क्षेत्रका साँसद समेत रहनु भएका नेपाल कम्यूनिष्ट पार्टी(ने क पा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक साँसद हुदा पुर्वधार विकासको एउटा ५ करोडको योजना छनौट गर्ने क्रममा यहि चक्रपथ छनौट गर्नु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आर्थिक वर्ष २०५४/०५५ मा दमक नगरपालिकाले चक्रपथ सडकको सम्भाव्यता अध्ययन गरी सडकको रेखाङ्गकन गर्ने काम सुरु गरेको थियो । ५० फूट चौडाइको यो सडकको कालोपत्रेको काम गतबर्षबाट शुरु भएको हो । शुरुवातको काम नै गुणस्तरहिन भएको उपभोक्ताहरु दुखेसो गर्दै आएकाछन् । चक्रपथको बिभिन्न ३ वटा स्थानमा करिब १० किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौड्यालका अनुसार दमक ७ मा सम्पन्न भइसकेको कालोपत्रे सडक केहि ठाँउमा दबेको र ठाँउठाँउमा समस्या आएको पाएको बताउनु भयो । निर्माण ब्यवसायीले केहि कमजोरी गरेको पाईएकाले तत्काल सच्याउनका लागि पत्रचार गरिएको उहाँको भनाइ रहेको छ ।

याक्थुम्हाङ निर्माण सेवाले करिब साढे ४ किलोमिटर सडक कालोपत्रेका लागि २ करोड ९६ लाख ६० हजार रुपियामा ठेक्का लिएको पौड्यालले बताउनु भयो । इन्जिनियर पौड्यालले भन्नुभयो, काम सकिन लागेको भनिएको छ, यहाँ केहि भागमा राम्रो काम नभएपछि फरफारक गरिएको छैन र त्यो काम गर्न लगाउछौ ।

यसैगरी दमक ८ मा पनि कालोपत्रे गर्दा लापरवाही भएको भन्दै स्थानीयले बिरोध गरेपछि अहिले काम रोकिएको छ । नयाँ गरिएकोकालोपत्रेमा केहि समय बित्न नपाउदै झार उम्रेको सबै उकिएको स्थानीयले गुनासो गर्दै आएकाछन् । सडक डिभिजन कार्यालय दमकले समेत यहाँ केहि लापरवाही भएको पाईएको बताउदै सच्याउन पत्रचार गरिएको जानकारी दिएको छ ।

मृत संजिवनी निर्माण सेवा हेटौडाले यो काम अन्तिम चरणमा पुर्याएको जनाउदै गुनासो आएको ठाँउमा तत्काल सच्याउनका लागि भनिसकेको इन्जिनियर पौड्यालले बताउनु भयो । दमकको ताराबारी उत्तर र बालुवाटारमा ३ किलोमिटर कालोपत्रे गर्न तथा बिभिन्न ठाँउमा माटो लगाउने, ग्राभेल गर्ने सम्झौता अनुसार यस निर्माण कम्पनीले ५ करोड ८५ लाखमा निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि केदार निरौलाले सडक डिभिजन कार्यालयले निर्देशन दिए अनुसार गुणस्तर कायम गरेर सडक बनाउने र निर्धारीत समयमा सक्ने दाबी गर्नु भयो ।

यसैगरी सडक डिभिजन कार्यालय दमकका शव इन्जिनियर सञ्जिव श्रेष्ठका अनुसार चक्रपथ कालोपत्रेका लागि नयाँ निर्माण सम्झौता भएर काम अघि बढिरहेको छ । बाम्ती भण्डार निर्माण सेवा काठमण्डौले ३६ सय मिटर चक्रपथ कालोपत्रेका लागि २ करोड ५२ लाख रुपियामा निर्माण सम्झौता गरेर काम गरिरहेको छ । यस अन्र्तगत वडा नं. ३ र ४ को सडक पर्ने उहाँले जनाउनु भयो । सम्झौता अनुसार आउदो भदौ मसान्तसम्ममा काम सक्नु पर्ने हुन्छ ।

दमक चक्रपथको अधिकाँश भागको ट्रयाक खुला भइसकेपनि करिब २ किलोमिटर सडक कताबाट लैजाने भनेर विवाद रहेको जनाईएको छ । यस बाहेक ३ सय मिटर रतुवा खोलाले भत्काएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार चक्रपथको विस्तृत परियोजना विवरण (डिपिआर) बनिसकेको र निर्माण सम्पन्न गर्न कम्तिमा पनि १ अरब लाग्ने अनुमान गरिएको छ ।