विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले कृषकहरुको धान रोपाइमा लागत कम गर्नका लागि धान रोप्ने मेशिन प्रदान गरेको छ । एक कार्यक्रमबीच दमक नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दमक १० स्थित न्यू संगम कृषि सहकारी संस्थालाइ धान रोप्ने मेशिन हस्ताण्तरण गर्नु भएको हो ।
दमक नगरपालिका प्रमुख ओलीले उक्त मेशिनले धान रोपेर आधूनिक तथा प्रविधियुक्त खेतीको शुरुवात समेत गर्नु भएको थियो ।
ओलीले भन्नुभयो, अब परम्परागत कृषि प्रणाली त्यागेर प्रविधिमैत्री कृषि मार्फत आत्मनिर्भरताको बाटोमा लैजान नगरपालिका किसानहरुलाइ सहयोग गर्न तयार रहेको छ ।
धान रोप्ने मेशिनको उद्घाटन गर्दै ओलीले नगरपालिकाले अग्र्यानिक खेतीलाइ प्रोत्साहन सहित प्रविधियुक्त खेती प्रणालीलाइ सहयोग गर्ने बताउनु भयो ।
उहाँले वास्तविक किसानसम्म प्रविधिको पहुच पुर्याउन नगरपालिकाले आउदो बर्ष बिशेष कार्यक्रमहरु समेत ल्याउने बताउनु भयो । उहाँले भन्नुभयो, भौतिक पूर्वधार विकासलाइ मात्र विकास सम्झने परिपाटी अन्त्य गर्नुपर्छ ।
यसैबीच दमक नगरपालिको रसायनिक मलको प्रयोग न्यूनिकरण गर्ने उदेश्यले नगरका किसानहरुलाइ निुशल्क रुपमा कृषि चुन उपलब्ध गराएको छ । माटोको अवस्था बिग्रदै गएको पाएपछि बिभिन्न कृषि सहकारी तथा समुहहरु मार्फत किसानहरुलाइ कृषि चुन उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
बिगतका बर्षहरुमा ढुवानीका लागि कृषि चूनमा अनुदान लिइने नीति लिएको र त्यो हुदा एकजना किसान पनि नआएको पाईएपछि यो पटक नगरपालिका आफैले कृषि चून ल्याएर निशुल्क बितरण गरिएको बताउनु भयो । नगरपालिकाको कृषि शाखा मार्फत २१ टन कृषि चुन वितरण भएको नगरप्रमुख ओलीले जनाउनु भयो ।
कृषि प्राविधिकहरुसंग परामर्श र छलफल गर्दा बिग्रिएको माटोको उपचारका लागि कृषि चून उपयोगी हुने देखिएपछि यसमा नगरपालिकाको ध्यान केन्द्रित भएको ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो, यहाँको माटो धेरै बिरामी भएको र यसको उपचारका लागि कृषि चुनको प्रयोग प्रभावकारी बन्ने सल्लाह पाईएको छ ।
माटो बिज्ञ हरी भुजेलका अनुसार दमक नगरपालिका सहित झापाको अधिकाँश क्षेत्रको माटो बिरामी रहेकाले यसको उपचारका लागि कृषि चुनको प्रयोगका लागि सिफारीस गरिदै आएको छ ।
उहाँका अनुसार दमकमा बिभिन्न सहकारी तथा कृषि समुहहरुको संयोजनमा भएको माटो परीक्षणमा माटोको उर्वराशक्ति हस आएको र माटो धेरै बिरामी भएको पाइएकाले कृषि चुन प्रयोग गर्न किसानलाइ सल्लाह दिइने गरेको छ ।
नगर उपप्रमुख अधिकारीले दमक नगरपालिकाले कृषि मैत्री बजेट तथा ब्यवहार अवलम्बन गर्ने बताउनु भयो । उहाँले किसानहरु प्रविधिमैत्री बन्नु पर्ने बताउदै त्यसमा नगरपालिका सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।











