पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । भट्टराईको सहपाठी समेत रहेका देवकोटाको उपचारको क्रममा सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । देवकोटाको निधनप्रति भावुक हुँदै भट्टराईले सामाजिक सञ्जालमार्फत गोरखाको अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएको पलको स्मरण गरेका छन् ।

देवकोटासँग खिचाइएको तस्बिरसहित बाबुरामको फेसबुक स्टाटसमा भनिएको छ, ‘ भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भट्टराईले देवकोटा एक बेजोड चिकित्सक भएको उल्लेख गर्दै अगाडि भनेका छन्, ‘तिमी आफै एक वेजोड चिकित्सक थियौस त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ । हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं । अन्ततस् तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र ।’

यस्तै भट्टराईले नेपाल आमाका सुयोग्य सपूत देवकोटाको सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहने पनि बताएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले पनि देवकोटाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।