नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले न्यूरो साइन्सका बिख्यात चिकित्सक डा उपेन्द्र देवकोटाको निधनले पार्टी स्तब्ध बनेको बताउनु भएको छ । सोमवार राती शोक बक्तब्य जारी गर्दै अध्यक्ष ओलीले देवकोटाको निधनबाट मुलुकलाई अपुरणीय क्षती पुगेको बताउनु भयो ।

यस्तो छ अध्यक्ष ओलीको शोक बक्तब्य

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको आज भएको निधनबाट हाम्रो पार्टी स्तब्ध भएको छ । विक्रम् सम्बत २०१० पुस ४ गते गोरखाको लिगलिगमा जन्मिएर गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका प्रा.डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक छ ।

स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ । आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा।डा। देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा स्मरणीय भइरहनेछ ।

प्रा.डा. देवकोटाको निधनबाट राष्ट्रले एक असाधारण सपुत गुमाएको छ । यस दुखद घडीमा म नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकको यस घडीमा म उहाँका परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

केपी शर्मा ओली अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)