विष्णुप्रसाद पोखरेल दमके । झापाको दमक नगरपालिकाले उपभोक्ताको सहभागिताको आधारमा योजनालाइ प्राथमिकता दिने नीति लिएको पाईएको छ । हरेक योजनाहरुमा उपभोक्ता सहभागिता गराउने उदेश्य अनुसार नगरकरो ग्रामिण क्षेत्रमा २५ र बजार क्षेत्रमा ५० प्रतिशत उपभोक्ता सहभागिताको नीति लिईएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

आफूहरु निर्वाचित भएर आएर शुरु गरेका चालु आर्थिक बर्षमा उल्लेख्य जनसहभागिता रहेको जनाउदै आगामि बर्षको योजनाका लागि उपभोक्ताहरु उत्साहित भएर नगरपालिकामा आइरहनु भएको उहाँले जानकारी दिनु भयो । एउटै योजनामा ३ करोडसम्म उपभोक्ताको नगद सहभागिता रहेको बताईन्छ । ओलीले भन्नुभयो, हामीले चालु आर्थिक बर्षमा सडक, ढल लगायतका योजनाहरुमा १० करोड भन्दा बढि जनताको नगद सहभागिता गराएका छौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शहरी क्षेत्रका सबै सडकहरु ढल सहितका कालोपत्रे बन्दै गएको र यि सडकहरुमा उपभोक्ता आफैले आफ्नो सहभागिता स्वतस्फूर्त रुपमा देखाएको ओलीले जनाउनु भयो । उहाँले भन्नुभयो, आफ्नो तर्फबाट लागत सहभागिताको ग्यारेन्टिका लागि बैक भौचर सहित उपभोक्ताहरु आउने गर्नु भएको छ, यो हाम्रा लागि गौरव र नगरबासीको विकासको दृढ चाहानाको रुपमा लिएका छौ ।

नगरपालिकाको योजना शाखाका अनुसार ७ करोडभन्दा बढि जन सहभागिताको नगरपालिकामा सम्पन्न भइसकेकाछन् । ३ करोडभन्दा बढिको जनसहभागिताको काम अहिले पनि निरन्तर चलिरहेको छ । नगरपालिका इन्जिनियर तीर्थनारायण श्रेष्ठका अनुसार एउटै सडक निर्माणमा स्वयं यस क्षेत्रका उपभोक्ताले ३ करोड रुपिया आफ्नो तर्फबाट नगद लगानी गर्दैछन् ।

श्रेष्ठका अनुसार दमक ५ स्थित क्याम्पसमोडबाट आम्दा अस्पताल हुँदै पाङ्नी चोक जोड्ने ३ किलोमिटर सडकमा उपभोक्ताले सबैभन्दा बढि रकम उठाउदैछन् । नगरपालिकाले २३ करोड लागत अनुमान गरेको यो सडकमा उपभोक्ताको ३ करोड खर्च हुदैछ । ढल सहित ५० फूटको सडक कालोपत्रे बन्दैछ । श्रेष्ठले भन्नुभयो, सडकले छोएको जमिन भएका उपभोक्ताहरुबाट प्रतिफुट १५ सयका दरले नगद उठाइरहेको पाईएका छौ, विकास निर्माणमा उपभोक्ताको यो उत्साह अनुकरणिय रहेको छ ।

कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको सगरमाथा दीपनी सडकमा उपभोक्ताहरुले १ करोड रुपियाको लागत सहभागिता जनाएकाछन् । ४ करोडको लागतमा काम अन्तिम चरणमा पुगेको र उपभोक्ताले १ करोड काम शुरु हुने अगावै बैक खातामा जम्मा गरिदिएको श्रेष्ठ बताउनु हुन्छ ।

दमक नगर उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक गीता अधिकारीका अनुसार सडक, ढल निर्माण र कृषिमा समेत जनसहभागितामा आधारीत कार्यक्रमहरु रहेकाछन् । उपभोक्ता समेतको लगानीमा हुने गरेका विकास योजनाको अनुगमन उपभोक्ता आफै स्वयंले समेत गर्ने भएकाले काम समेत गुणस्तरीय हुने गरेकाछन् । नगरवासीले एकपछि अर्को योजनाहरु ल्याइरहेता पनि नगरपालिकासंग बजेट नभएर अर्को आर्थिक बर्षलाइ समेत योजनाहरु सार्नु परेको नगरपालिकाको भनाइ छ ।

चालु आर्थिक बर्षका कार्यक्रमहरु अन्तिम चरणमा पुगेको बताउदै आँउदो बर्ष कम्तिमा पनि २० करोड रुपिया जन सहभागिता जुट्ने आफूहरुले अनुमान गरेको र त्यसै अनुसार अब नगरपालिकाले बजेट बनाउने नगर प्रमुख ओली बताउनु हुन्छ । उहाँले भन्नुहुन्छ, हामी आफैले उपभोक्ताहरुलाइ यो बर्ष तपाइहरुले जति लगानी गर्न सक्नुहुन्छ त्यहि गर्न सक्दैनौ, आगामि बर्ष गर्छौ भनेर पठाउने गरेका छौ ।