बेइजिङ, ७ असार – नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाणडु ल्याइनेसहित १० वटामा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।
केरूङहुँदै काठमाण्डु आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाण्डु ल्याउने उल्लेख छ ।
यसअघि दुई देशबीच रेलका विषयमा चर्चा भए पनि कुन रेल काठमाण्डु ल्याउने टुंगो भएको थियो ।
चीनले विभिन्न ठाउँमा यात्रुलाई मात्र लक्षित गरी रेलमार्ग बनाउने गरेको छ । कार्गो नबोक्ने त्यस्ता रेलमार्ग तीव्र गतिका रेल कुद्छन् । यसअघि चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाण्डु पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएका थिए ।
जेठ दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए । एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन् ।
चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो । पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी अगस्टमा आउनेछ ।
आज भएका थप सहमतिमा विभिन्न ठाउँमा सुख्खा बन्दरगाह बनाउने, विद्युत लाइन विस्तार गर्नेलगायतका विषय छन् ।
दुई देशबीच तातोपानी र केरूङमा पक्की पुल बनाउने र मानव स्रोत र थिंक ट्यांकको आदान–प्रदान गर्ने विषयमा सहमति भएको छ ।










