काठमाडौँ, २१ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

कामको प्रगति हेर्न आज बिहान राज्यमन्त्री खड्का, मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलगायतको टोली सुन्दरीजल पुगेको हो ।

उक्त टोलीले मेलम्चीको पानी वितरण गर्न निर्माण गरिएको पानीपोखरी, महाङ्काल चौर, आरुबारीमा रहेको खानेपानी ट्याङ्कीको समेत निरीक्षण गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा राज्यमन्त्री खड्काले तोकिएकै समयमा काठमाडौँका जनतालाई कसरी शुद्ध खानेपानी खुवाउन सकिन्छ भन्ने उद्देश्यका साथ मन्त्रालय दिनरात अनुगमन तथा निरीक्षणमा खटेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “सिङ्गै मेलम्ची खोला काठमाडौँमा ल्याउँदै गर्दा त्रुटि भयो भने भोलि ठूलो क्षति हुनसक्छ भन्ने कुरालाई मध्यनजर गरी कामको अवलोकनका लागि मन्त्रालय लागेको हो ।”

सचिव उपाध्यायले काममा केही बाधा अवरोध छ कि भन्ने बुझ्न मन्त्रालयको टोली निरीक्षणमा आएको बताउनुभयो । उहाँले भन्नुभयो – “मन्त्रालयबाट पटक पटक आउँदा काम गर्ने व्यक्तिलाई पनि थप हौसला मिल्छ ।”

मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा विसं २०७४ असोजभित्र खानेपानी उपलब्ध गराउने घोषणा गरेसँगै तीव्र गतिमा काम भएको केन्द्रको ९५ प्रतिशत काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।