काठमाडौँ, २१ पुस । अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतकोे निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्य तालिका सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले त्रिविले तोकेको विधि र प्रणालीमा केही फरक मत भए पनि निर्वाचनको सुनिश्चिताका निर्वाचन प्रक्रियामा सहभागी हुने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई सभ्य, स्वच्छ, अनुशासित, मर्यादित मितव्ययी, पारदर्शी र भयरहित ढङ्गबाट सम्पन्न गर्न वातावरण बनाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गरेर पनि नभएको इतिहास हामीसँग छ । अबको निर्वाचनमा पनि परिणाम आफ्नो पक्षमा पर्छ कि पर्दैन भन्ने त्रासबाट प्रेरित भएर निर्वाचनको वातावरण बिथोल्ने वा असहजता निर्माण गर्र्न काम नगरौँ ।”

अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था अवलम्बन गर्न पनि आग्रह गर्नुभएको छ ।

यसैगरी अनेरास्ववियुले विभिन्न क्याम्पसमा खोलिएको विद्यार्थी कल्याण शाखा अविलम्ब बन्द गरी विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्ववियुमार्फत सञ्चालन गर्न पनि माग गरेको छ ।

गत बुधबार त्रिविको साधारण बैठकले २८ वर्षे उमेरको हदबन्दी र मिश्रित प्रणालीमा स्ववियु निर्वाचन हुने निर्णय गरेको छ ।

प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविले २०६५ चैत ६ गतेदेखि गर्न सकेको छैन । त्रिविले पटकपटक घोषणा गरे पनि उमेर विवादका कारण निर्वाचन हुन सकेको छैन ।