विष्णुप्रसाद पोखरेल दमक, असार १० । झापाको धान सुपरजोन सहित जिल्लामा उत्पादित भएको चैते धान (बोरो) नविकेपछि यसका बजार खोज्दिन किसानहरुले सरोकारवालाहरुले माग गरेकाछन् भने राइस मिलहरुले आफूहरुको क्षमताभन्दा बाहिर रहेको भन्दै धान लिन नसक्ने अवस्था रहेको बताउन थालेकाछन् ।

किसानहरुको उत्पादित धान उद्योगिहरुले सहज रुपमा किन्न सकुन भनेर राज्यले उद्योगिलाइ आवश्यक उपकरण तथा मेशिनरी किन्नका लागि दिएको रकम भने बर्षेनी फिर्ता गइरहेको रहस्य समेत खुलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लामा धान नविकेको र किसानहरुले धानको उचित मुल्य नपाएको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपश्चात जिल्ला प्रशासन कार्यालय झापाको समेत ध्यानकर्षण भएको पाईएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरोकारवालाहरुको बैठक बोलाएर धान नबिक्नुको कारण र किसानका समस्या सामधानका लागि पहल गर्न जिल्ला कृषि विकास कार्यालय, धान सुपरजाने कार्यन्वयन इकाइ बनियानी लगायतलाइ निर्देशन दिईएको बताईएको छ ।

धान सुरपरजोन कार्यन्वयन इकाइका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिना, जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगि र सञ्चारकर्मीहरुको टोलीले झापाको भद्रपुरस्थित गणेश एग्रो राइस मिलमा अनुगमन समेत गरेको छ ।

मिलमा क्षमताभन्दा बढि नै धान राखिरहेको पाईएको बताउदै मिल सञ्चालकहरुले समेत किसानको जस्तै समस्या टोलीलाइ सुनाएका थिए ।

राइसमिलका सञ्चालक उज्वल श्रेष्ठले आफूहरुको मिलको क्षमता दैनिक १ सय टनसम्म धान लिने भएको बताउदै अहिले यो भन्दा बढि लिइरहेको बताउनु भयो ।

आफूहरुसंग रहेको ड्रायर मेशिनबाट एकपटक अर्थात करिब १० घण्टाको अवधिमा ३० टन धान सुकाउन सकिने जनाउदै त्यो भन्दा बढि नसकिने भएकाले आफूहरुले ल्याएको धान समेत बोरामा कुइरहेको उहाँको भनाइ थियो ।

किसानहरुले चैते धान पानी सहित काँचो नै खेतबाट बिक्री गर्दै आएकाछन् । यो धान काटेको एकदेखि दूइदिन नसुकाइ रहनसाथ तातेर कुहिने गरेको बताइन्छ ।

आफूहरुले झण्डै १५ करोड लगानीमा मिल सञ्चालन गरिरहेको बताउदै श्रेष्ठले भन्नुभयो, हामीले ल्याएर राखेको पनि अहिले बोरामा नै उम्रिरहेकोछ, यो जम्मा १ महिनामात्रको समस्या भएकाले हामीले करोडौ खर्च गरेर ड्रायर मेशिन समेत ल्याउन सक्ने अवस्था रहेको छैन ।

जिल्लामा उद्योगिहरुलाइ लक्षित गरेर ५० प्रतिशत अनुदानमा ड्रायर मेशिन खरिदका लागि अघिल्लो बर्ष ३ करोड र चालु आर्थिक बर्ष ८० लाखभन्दा बढि बजेट आएको पाएको जनाउदै यदि त्यो पाएको अवस्थामा आफ्नो मिल एक्लैले धान सुपरजोनमा ७ सय बिगाहमा उत्पादित भएको धान किन्न सक्ने जनाउनु भयो ।

समयमा सुकाएर भण्डारन गर्न सक्दा चामल बिक्रीमा कुनै प्रकारको समस्या नरहेको र यहि समस्याका कारण भारतबाट चामल आयत हुने गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रि कृषि आधूनिकरण परियोजना धान सुपरजोन कार्यन्वयन इकाइ बनियानीका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले यहाँ उत्पादन भएको धान सुकाउन सक्ने क्षमता किसान र राइसमिलहरुसंग नभएकाले अहिले किसानको धान नबिकेको तथा उचित मूल्य नपाएको देखिएको बताउनु भयो ।

किसानहरुलाइ यो समस्या नहोस भनेर उद्योग शाखाले उद्योगिलाइ अनुदान दिने गरी पठाएको बजेट समेत कार्यन्वयन नहुदा यो अवस्था आएकाले यसमा गम्भिर हुनु पर्ने उहाँले बताउनु भयो ।

उद्योग शाखा भद्रपुरका उद्योग अधिकृत गोपाल लिम्बुका अनुसार अघिल्लो बर्ष ३ करोड आर्थिक बर्ष समाप्त हुनु केहि समय अघि मात्र आएको र प्रक्रीया नै लामो र झन्झटिलो भएकाले त्यसै फिर्ता गएको बताउनु भयो । अहिले पनि अवस्था त्यहि रहेको उहाँले जनाउनु भयो ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्र्तगत मेशिन उपकरण हस्ताण्तरण लागि प्रस्ताव आह्वान सम्बन्धि सुचना प्रकाशित गरेर निवेदन माग गरिएको जानकारी दिदै अन्तिम समयमा बजेट आएकाले यो बर्ष पनि पैसा फिर्ता जाने उहाँको भनाइ रहेको छ । यसमा गणेश एग्रो र बनियानीको एउटा राइसमिलले निवेदन दिएकाछन् ।

जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगिका अनुसार यो बर्ष चैते धानको उत्पादकत्व बढेको छ । १ दशमलव ७२ प्रतिशतले उत्पादकत्व बढेको उहाँले जानकारी दिनु भयो ।

यो बर्ष २० हजार ६ सय ५० हेक्टरमा चैते धान लगाईएको र प्रतिहेक्टर ५ दशमलव ३ मेट्रिकटन उत्पादन रहेको उहाँले जनाउनु भयो । यस अनुरा १ लाख १० हजार टनको हाराहारीमा चैते धान उत्पादन रहेको छ ।