दमक,११ असार /झापाका आधा दर्जन स्थानीय तह विपतको जोखिमका रुपमा रहेको सरोकारवालाहरुले औल्याएका छन् । कमल गाउँपालिकाले सोमबार गाउँपालिकाको सभाहलमा विपद व्यवस्थापन तथा पूर्व तयारीसम्बन्धी जनप्रतिनिधिसहित सरोकारवालाहरुसंगको अन्तरकृयामा विपतका व्यवस्थापनमा सक्रिय संस्था नेपाल रेडक्रस सोसाईटी झापाले जिल्लाका ६ वटा स्थानीय तह बढी बाढीको जोखिममा भएको जनाएको हो ।
रेडक्रस झापाका सभापति लोकराज ढकालले कार्यपत्र प्रस्तुत गर्दे जिल्लाका कमल ,गौरीगञ्ज,झापा, कचनकवल र बाह्दशी गाउँपालिका र शिवसताक्षी नगरपालिका भने बाढीले गर्दा जोखिम हुदै आएको बताए । प्राकृतिक र मानवजन्य प्रकृयाबाट झापामा बर्षेनी बाढीको ठुलो विपतको जोखिम भएको उनको भनाई थियो ।
विपतको जोखिम झापामा बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दे उनले बर्षापछि आउने जोखिमका कारण बर्षेनी अकालमा नै मानिसको मृत्यु हुने घटना बढ्ेको बताए । उनले पछिल्ला तीन बर्षमा बाढीपहिरोबाट २० जनाको मृत्यु भएको ७ जना अझै हराएको जानकारी दिए ।
बाढीबाट २०६७ सालमा ३ जनाको मृत्यु २ जना वेपत्ता, २०७३ सालमा १ को मृत्यु ३ जना वेपत्ता र ०७४ मा भने १६ जनाको मृत्यु ,२ जना वेपत्ता भएको तथ्यांकमा जनाईएको छ । त्यस्तै ,पछिल्लो वर्षको बाढीले जिल्लाका ८११ घरपरिवार पूर्णरुपमा विस्थापित भएको उल्लेख छ । उनले बर्षामा बाढीका रुपमा आउने जिल्लाका कन्काइ,विरिङ,रतुवा,मावा लगायतका नदीखोलाबाट बर्षेनी ठुलो जनधनको क्षति हुदै आएको छ ।
अन्तरकृयामा बोल्दै कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कमल गाउँपालिका विपतका दृष्ट्रिले निकै जोखिम भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सवै जुट्नु पर्ने जोड दिइन् । कमल गाउँपालिका विपत जोखिम न्यूनीकरण गर्न प्रयत्नशील भएको भन्दै उनले त्यसका लागि आवश्यक पूर्व तयारी शुरु गरिएको बताइन् । सो अन्तरकृयामा वडाध्यक्ष,वडा सदस्यहरु,रेडक्रस,विद्यालय, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।










