प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको बताएका छन् । असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन् ।

मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त नहुने भएकोले छिमेकीहरूको सहयोग जुटाउन आफू लागेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हामीले छिमेकीसँग सम्बन्ध सुधारेका छौँ । विश्वास, समझदारी र सहकार्यको वातावरण निर्माण गर्न सफलता प्राप्त गरेका छौँ’, प्रधानमन्त्रीले भने ।

सरकार क्षणिक हिसाबले एक छिमेकीका विरुद्ध अर्को छिमेकीलाई उचाल्न नलागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले छिमेकीहरूबीच समेत सहकार्य र विश्वासको वातावरण बनाउनु आफ्नो भूमिका रहेको बताए ।

‘हामी क्षणिक हिसाबले एउटा विरुद्ध अर्कोको कार्ड खेल्ने, उचाल्ने अथवा तात्कालीक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्ने काम गर्दैनौँ’, प्रधानमन्त्रीले भने, ‘हामी दुबै छिमेकीहरूसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग तथा सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौँ ।’

नेपालको विकासको प्रयासमा छिमेकीको साथ चाहिने भएकोले त्यसनिम्ति आफ्नो सरकारले प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ । छिमेकी मुलुकहरूको सम्वेदनशीलता पनि नेपालले बुझेको बताउँदै प्रधानमन्त्रीले उनीहरूको जायज चासोको सम्बोधन गर्ने बताए । कतिपयले सरकारले बाहिर गर्ने कुरा र भित्री व्यवहारबीच तालमेल नरहेको शंका गरेकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले सरकार पारदर्शी रहेको बताए ।

‘कतिपयले भित्र के हो कसो हो ? बाहिर यस्तो देखिएको छ भन्ने गरेका छन्’, प्रधानमन्त्रीले भने, ‘हामी भित्र र बाहिरवाला कुरा गर्दैनौँ, उहाँहरूका सम्वेदनशीलतालाई पनि बुझेका छौँ, उहाँहरूका जायज चासो र सरोकार बुझेका छौँ ।’

आफ्नो विकासको प्रयाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि नेपालले भूमिका खेल्न चाहेको प्रधानमन्त्रीले बताए ।‘हामी हाम्रा दुई छिमेकीबीच असमझदारी हटाउन सकारात्मक भूमिका खेल्छौँ । उहाँहरूबीचमा पनि सहकार्य विकास गर्ने कुरामा हाम्रो सकारात्मक योगदान रहन्छ’, प्रधानमन्त्रीले भने, ‘हामी यता ढल्कने वा उता ढल्कने गर्दैनौँ ।’

पञ्चशील, पारस्परिक लाभ र स्वाभिमानका आधारमा राष्ट्रिय हीतलाई केन्द्रमा राखेर काम गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय सम्बधमा पनि हामी तनाव होइन, शान्तिको पक्षमा छौँ । अझ हामी हाम्रा छिमेकीहरूमा तनावको पक्षमा हुनै सक्दैनौँ । यो नै हाम्रो हीतमा छ । हाम्रा हरेक भेट र भ्रमणमा यो भावनालाई स्पष्ट पारेका छौँ ।’

बलिया छिमेकीहरूको सामर्थ्य र प्रविधिलाई नेपालको विकासका प्रयासमा मिसाउन चाहेको उनको भनाई छ । ‘उहाँहरूको योगदान र सहकार्यको अपेक्षा गर्छौँ । अरुसँग पनि सहकार्य गर्न चाहन्छौँ’, प्रधानमन्त्रीले भने, ‘सबैसँग मिलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न चाहन्छौँ । त्यस दिशामा भ्रमण सकारात्मक र सहयोगी बनेको छ ।’ काठमान्डू टुडे बाट साभार