काठमाडौं । नायिका उषा खनाललाई आजकाल जाडोले असाध्यै सताएको छ । उनले जाडोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गरेकी छिन् । चिसोका कारण उनको मुखको छालाका साथै हातमा पनि बेलाबेला समस्या नदेखिन भने होइन । उनी यस विषयमा भन्छिन्, ‘जाडो याममा शरीरलाई अलिक धेरै ध्यान दिनुपर्छ । अन्यथा चिसोले छालामा समस्या आउन सक्छ ।’

जथाभावी मोस्च्युराइजर प्रयोग नगर्ने गरेकी नायिका उषाले भनिन्, ‘चिकित्सकहरूको सल्लाहविना मैले कुनै पनि लोशन प्रयोग गर्दिन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विज्ञको सल्लाहविना औषधिहरू प्रयोग गर्दा छालामा असर पर्ने उनको भनाइ छ । उनले अरुलाई पनि चिकित्सकहरूको सल्लाहमा स्वास्थ्यको ख्याल राख्न आग्रह गरिन् ।

पछिल्लो समय ठूला फिल्ममा भन्दा म्युजिक भिडियोमा अलिक धेरै देखिने गरेकी नायिका उषाले भनिन्, ‘म्युजिक भिडियो प्रसस्त बनेका छन् । अफर आउँछन् । राम्रो गीतमा खेल्ने गरेकी छु ।’

लामो समय नयाँदिल्लीको बसाइपछि काठमाडौं आइपुगेकी नायिका उषाले भनिन्, ‘व्यक्तिगत कामले नयाँदिल्ली गएकी थिए । नयाँदिल्लीको बसाइका क्रममा बलिउडका केही फिल्म मेकरहरूसँग पनि भेट भयो । फिल्महरूका विषयमा कुराकानी भएको छ । हेरौं भविष्यमा के हुन्छ ।’

बलिउडका साना प्रोजेक्टका फिल्म खेल्नका लागि अफर आएको उनले बताइन् । हुन त भारतीय भोजपुरी फिल्महरूमा नायिकाको रुपमा काम गरिसकेकी उषालाई बलिउडको नसा पनि छ ।

चकलेटी हिरोइनको छवि बनाएकी नायिका उषाले अर्को नयाँ फिल्म खेल्ने तयारी पनि गरेकी छिन् । ‘नयाँ फिल्ममा खेल्नका लागि आन्तरिक तयारी भएको छ । कुराकानी चलिरहेको छ’, उनले भनिन्, ‘फिल्मका विषयमा छिट्टै टुङ्गो लाग्नेछ ।’