काठमाडौँ,  २२  पुस । रक्षामन्त्री बालकृष्ण खाँण र स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली सेनाको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँहरूले वीरेन्द्र अस्पताल तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।

यसअघि सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा किशोरजङ्ग राणाले नेपाली सेनाले स्वास्थ्य सेवासम्बन्धी गरिरहेका कार्यहरू तथा योगदानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक उपरथी डा बच्चुराम केसी (अ.प्रा.) ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेपाली सेनाले गरिरहेका कार्यहरूको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस प्रकारको उच्चस्तरीय भ्रमणबाट नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यमा प्रोत्साहन मिल्न गई हौसलाको साथ कार्यगर्न थप ऊर्जा मिल्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

उक्त भ्रमणमा प्रधान सेनापति प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको समेत सहभागिता रहेको पनि निर्देशनालयले जनाएको छ ।