बिहीकार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमण सफल भएकोदेखि युरोपेली युनियनले दिने ५ अर्ब अनुदान स्वीकार गर्नेसम्ममा निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा हुने गरी सफल रहेको निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष मन्त्रिपरिषदले निकालेको उनले जानकारी दिए । त्यस्तै बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति पनि प्रदान गरेको छ ।

मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ । यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

त्यसैगरी बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि बैठकले स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।