काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरको `निषेधाज्ञा´ उचित समयमा तोडिने चेतावनी दिएका छन्। बिहीबार सामजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै उनले सरकारले माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाएकोमा सो चेतावनी दिएका हुन् ।
उनले सरकारो नियतमा खोट रहेको औँलाउदै ट्विटमा लेखेका छन् ' अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विजर्लेण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ । तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो ! निर्णयको नियतमा खोट छ !!'
गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरि साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएसँगै कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले पार्टीको धारणा राखेका हुन् । काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइने सरकाले यस अघि निर्णय गरेको थियो । माइतीघरमा भने कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइनेछैन।










