विष्णुप्रसाद पोखरेल दमक/झापाको कमल गाउँपालिकाबाट गौरादहको बैगुन्धरा जोड्ने १६ किलोमिटरभन्दा लामो केर्खा–क्याम्पा–सरङपाडा–बैगुन्धुरा सडक निर्माण अलपत्र छाडिएपछि अत्यावश्यकीय सवारीसाधनहरु समेत सञ्चालनमा कठिनाई भएको छ ।

जिल्ला समन्वय समिति र गाउँपालिकाले बारम्बार रुपमा निर्माण ब्यवसायीलाई काम गर्न भने पनि निर्माण व्यवसायीले बेवास्था गर्दै निर्माणको काम नगरेका हुन् । निर्माण ब्यवसायीले माटो तथा बालुवा थुपारेर केही नगरी बसेपछि सडक नै अवरुद्ध हुने अवस्था आएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकको बीचमा गिटी र बालुवा थुपारेको महिनौं बित्दा पनि त्यो नसम्याउँदा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीसाधन समेत सञ्चालनमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापालाई बारम्बार ध्यानकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनले बताइन् ।

बाटो नै अवरुद्ध हुनेगरी थुपारिएको निर्माण सामग्री बाध्य भएर गाउँपालिकाले मेशिन लगाएर हटाउनु तथा सम्याउनु परेको उनले बताइन् । निर्माण ब्यवसायी प्रतिनिधिले आफूहरुको आग्रहलाई बेवास्था गर्ने गरेको र उल्टै बाहिरबाट पैसा नआएकाले काम गर्न नसकिएको भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको काफ्लेले बताइन् ।

उक्त सडक सम्याएको लागत खर्च सम्बन्धित निर्माण कम्पनीले नै व्यहोर्नुपर्ने भनेर जिल्ला प्रशासन कार्यालय झापालाई पत्रचार गरेको उनले बताइन् । जिल्ला समन्वय समिति झापा मार्फत गरिने यो कालोपत्रे निर्माणको काम रोशन÷शाह इञ्जिनियर जेभिले २०७४ साल असार २० गते २४ महिनामा सक्नेगरी सम्झौता गरेको जिल्ला प्राविधिक कार्यालय झापाका इञ्जिनियर सुजन दाहालले बताए । उनले दुई वर्षभित्रमा कालोपत्रे गरिसक्नुपर्नेमा अहिलेसम्मको प्रगती विवरणमा दुई प्रतिशतमात्र काम भएको र सम्झौतापछि खासै केही नै काम नभएको बताए ।

दुईवटा प्याकेजमा यो निर्माण सम्झौता भएको पाइएको छ । पहिलो प्याकेज अन्तर्गत केर्खादेखि क्याम्पासम्म ८ किलोमिटर र दोस्रो प्याकेजमा क्याम्पाबाट बैगुन्धुरासम्म ८ किलोमिटर रहेको छ । पहिलो प्याकेजको ६ करोड ३३ लाख १५ हजार ३ सय ४५ र दोश्रो प्याकेजको ७ करोड २२ लाख ८ हजार ८ सय ४७ रुपैयाँमा निर्माण सम्झौता भएको दाहालले बताए । स्थानीयबासीले सडकमा निर्माण सामग्री थुपारिँदा समस्या भएपछि बारम्बार बिरोध गरे पनि निर्माण ब्यवसायी र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकहरुले बेवास्था गरेको आरोप लगाउँदै आएका छन् ।

ड्रेन निर्माणको क्रममा प्रयोग भएको सिमेन्ट तथा पक्कीको गुणस्तर मापनका लागि निर्माण ब्यवसायीलाई आग्रह गर्दा अटेर गरेर त्यही समयदेखि काम रोकेको दाहाले बताए । अहिलेसम्म निर्माण सामग्री सडकको केही भागमा खन्याउने काम बाहेक अन्य केही पनि काम नभएको इञ्जिनियर दाहालले बताए । उनले तीन पटक निर्माण ब्यवसायीलाई पत्र समेत काटेको बताए ।

जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशिल श्रेष्ठ र साइट इञ्जिनियर सुजन दाहालको भनाइ पनि फरकखालको पाइएको छ । साइट इञ्जिनयर दाहालले खासै काम नै शुरु नभएको बताए पनि प्रमुख इञ्जिनियर श्रेष्ठले भने १० प्रतिशत काम भएको र ग्रेडर गर्दा करिब १५ प्रतिशत काम सकिने बताए । उनले चाँडै काम शुरु गर्ने भनेर निर्माण ब्यवसायीले आफूलाई भनेको समेत बताए । ‘यही साताभित्र काम अघि बढाउँछु भनेर मलाई भनेका छन्, अब काम अगाडि बढ्छ’– श्रेष्ठले भने ।

उपभोक्ताहरुको आवतजावत भइरहने अत्यन्त ब्यस्त सडकमा निर्माण सामग्री थुपारेर काम अलपत्र पारेको आफूलाई पनि थाहा भएको जनाउँदै गाँउपालिकाबाट यस बिषयमा समेत जानकारी पाएको श्रेष्ठले बताए । ‘हामीलाई मात्र दोष लगाएर भएन, काम निर्माण ब्यवसायीले नगरेको हो’–श्रेष्ठले भने ।

निर्माण ब्यवसायी सन्दिपकुमार शाहले झापाको एउटा योजना गिरजाप्रसाद कोइराला सभागृह निर्माण सम्पन्न भएको एक बर्ष भएको र चार करोड रुपैयाँको बिल भपाई फरफारकका लागि धाउँदा–धाउँदा आफै पीडित बनेको बताए । ‘जिल्ला समन्वय समिति झापा मार्फत पाउने मेरो चार करोड रुपैयाँ अड्किएर यस्तो भएको हो’– शाहले भने । अहिले पनि पैसा निकासाका लागि आफू धाइरहेको र आफूहरुको पीडा कतैबाट सुनुवाइ नभएको उनले दुखेसो गर्दै सम्झौता अनुसार निर्धारित समयमा काम गर्ने बताए ।

‘अझै एकबर्ष निर्माण सम्झौता अनुसार समय रहेको छ त्यो भन्दा चार महिनाअघि नै सम्झौता अनुसार काम गरेर सडक हस्तान्तरण गर्छौ’ –शाहले भने । यसै सातादेखि थुपारिएको निर्माण सामग्री सम्याउन शुरु गर्ने शाहले प्रतिबद्धता जनाए ।