बिर्तामोड । झापाको चारपानेदेखि जयपुरसम्म जोड्ने सडकमा ठेकेदार संस्थाकोे चरम लापरवाहीका कारण निर्माण सम्पन्न नहुँदै अलकत्रा उक्किन थालेको छ । सडक निर्माणमा लापरवाही भएको भन्दै स्थानीयले ठेकेदार संस्थालाई कारवाही गर्न माग गरेका छन् । ब्लाष्ट दैनिकमा यस बिषयमा प्रेम आचार्यले समचार लेखेकाछन् ।

अर्जुनधारा जलेश्वर धामदेखि बुद्धशान्ति गाँउपालिकाको जयपुर चोकसम्मको ६ किलोमिटर सडक निर्माण गर्न गजुरमुखी–खनाल जेभीले ५ करोड ६५ लाख ६ सय २१ रुपैंयाँमा ठेक्का पाएको थियो । २०७४ असार २० गतेदेखि निर्माण शुरु गरेको कम्पनिले काम शुरु गरेको २४ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको खनाल कन्स्ट्रक्सनका सञ्चालक डिल्ली खनालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही सम्झौता अनुसार हालसम्म लगभग ५ किलोमिटर सडक निर्माण भइसकेको छ । निर्माण भएको सडक गुणस्तरहिन भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । त्यसक्षेत्रका जनप्रतिनिधीले ठेकेदार संस्थाले लापरवाही गरेको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी गर्ने बताएका छन् ।

एकसाता अघि कालोपत्रे भएको सो सडकमा अलकत्रा र गिटी जोडिएको छैन । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोपिचन्द्र गौतमले गुणस्तरीय सडक निर्माणका लागि दवाव दिन स्थानीयसँग आग्रह गरेका छन् । उनले ठेकेदार संस्थाको लापरवाहीका कारण सडक बनाइनसक्दै भत्किएको आरोप लगाए । निर्माणका नाममा झारा टार्ने ठेकेदारलाई कारवाहीका लागि उनले अख्तियारमा उजुरी हाल्ने तयारी गरेको समेत बताए ।

बुद्धशान्ति गाँउपालिका २ का वडासदस्य नेत्रप्रसाद गौतमले मापदण्ड बिपरीत सडक निर्माण भएको आरोप लगाए । उनले गलत ढंगले सडक बनाएको बताए । ठेकेदार संस्था र जिल्लाका प्रमुख इन्जिनियर शुसिल श्रेष्ठको मिलेमतोमा चरम अनियमितता भएको उनले बताए । गुणस्तरहिन निर्माणको जिम्मा श्रेष्ठले लिनुपर्ने भन्दै उनले उक्किएको सडक पुरै भत्काएर मापदण्ड अनुसार बनाउनु पर्ने बताए । जनप्रतिनिधीको अनुरोध स्विकार नगरे अख्तियारमा उजुरी हाल्ने चेतावनी उनले दिएं ।

झलनाथ खनाल प्रधानमन्त्री भएको समयमा उत्कृष्ठ निर्माण कम्पनिको रुपमा ईलामको खनाल कन्स्ट्रक्सन पुरस्कृत भएको थियो । खनाल कन्स्ट्रक्सनले गजुरमुखी निर्माण सेवासँगको सहकार्यमा त्यो सडक निर्माण गर्न ठेक्का पाएको हो । सो आयोजनाको निर्माण सम्बन्धि सुचना दिने बोर्ड समेत स्पष्ट छैन । बोर्डमा कहिले सम्म निर्माण सम्पन्न गर्ने हो भन्ने मिति नै राखिएको छैन भने अन्य जानकारी पनि उपलब्ध नगराइएको पाइएको छ ।

त्यस सडकमा मेशीनले अलकत्रा पकाएर कालोपत्रे गरिएको हो । त्यो मेशीनमा समस्या भएका कारण अलकत्राले गिटी नजोडेको हुनसक्ने एकजना निर्माण ब्यवसायीले बताएका छन् । उनले गिटी र अलकत्रा पकाउँदा १५ प्रतिशतसम्म बालुवा प्रयोग गर्नुपर्ने भन्दै तेलको बचतका लागि निर्माण कम्पनिले बालुवा नहाल्ने गरेको जानकारी दिए । भने–‘त्यसकारण पनि गिटी र बालुवालाई अलकत्राले जोड्न नसकेको हो ।’

बालुवा गिटी र अलकत्रा मिसाएर पकाउँदा धेरै तेल प्रयोग हुने गरेकाले पनि निर्माण कम्पनिहरु बालुवा मिसाउनबाट पछि हट्ने गरेका छन् । त्यसका कारण सस्तो मुल्यमा निर्माण गर्न सकिने जानकारहरुको भनाई रहेको छ ।

झापाका प्रमुख जिल्ला इन्जिनियर शुसिल श्रेष्ठले गुणस्तरहिन काम गरेको भए ठेकेदारलाई कारवाही गर्ने बताए । ‘सम्झौता अनुसार काम गरेको रहेन छ भने म त्यो सडक भत्काएर फेरी बनाउन लगाउँछु, श्रेष्ठले भने–‘एक ट्रिपर गिटीमा समस्या देखिएको हो, अरुमा त्यस्तो छैन ।’

उनले एक ट्रिपरमा धेरै पकाएर समस्या देखिएको हो भनेपनि नयाँ निर्माण भएको एक किलोमिटरमा अलकत्रा जोडिएको छैन । अलकत्रा पकाउने उपकरण समेत श्रेष्ठले नै भाडामा दिएको बताइएको छ । सोही उपकरणका कारण कालोपत्रे नजोडिएको हो ।

निर्माण ब्यवसायी खनालले गुणस्तरीय सडक बनेको दावी गरेका छन् । ‘केही स्थानमा समस्या होला, त्यो ठाँउमा फेरी गर्छु , खनालले भने–‘अन्य स्थानमा झापाकै उत्कृष्ठ सडक निर्माण भएको छ ।’ उनले उत्कृष्ठ निर्माण ब्यवसायीको रुपमा आफु पुरस्कृत भइसकेको बताए । उनले तोकिएको समयभन्दा अगाडी नै काम गर्दा स्थानीयवासीमा गुणस्तरहिन काम गरेको भ्रम परेको हुनसक्ने बताए ।