पोखरा– प्रदेश ४ ले आफ्नो स्थायी राजधानी पोखरा राख्ने निर्णय गरेको छ।
प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको स्थायी राजधानी पोखरा राख्ने निर्णय सर्वसम्मत रुपमा गरेको हो। यस सम्बन्धी छलफलमा ५२ सांसदले भाग लिएका थिए।
नेकपामा सांसद राजीव पहारीले स्थायी राजधानी टुंगो लगाएपछि अब प्रदेशको नामको विषयमा मंगलबारदेखि छलफल हुने बताए। प्रदेशसभामा चार वटा नाम प्रस्ताव दर्ता भएका छन्। सांसदहरुले गण्डकी, तमुवान मगरात, गोरखा र अन्नपूर्णको नाम राख्न प्रस्ताव दर्ता गराएका छन्। विभिन्न नाम प्रस्ताव भए पनि सर्वसम्मत रुपमा निर्णय गरिने सांसद पहारीले बताए।
प्रदेश ४ स्थायी राजधानी तोक्ने दोस्रो प्रदेश बनेको छ। यसअघि प्रदेश नम्बर ६ ले स्थायी राजधानीको टुंगो लगाएको थियो। प्रदेश ६ ले स्थायी राजधानी सुर्खेत र नाम कर्णाली राख्ने निर्णय गरिसकेको छ।
अन्य प्रदेशमा पनि स्थायी राजधानी र नामका विषयमा बहस चलिरहेको छ। नेपाल लाइभ बाट










