गौरादह/झापाको गौरादह नगरपालिकामा आज अपरान्ह साढे ३ बजे बिभत्स एवं दर्दानक घटना भएको छ । अधिक गतिमा आएको ट्रिपर र तीनजना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकलमा ठक्कर दिदा मोटरसाइकलमा सवार दुइजनाको ज्यान गएको हो । एकजना घाइते छन् ।
मोटरसाइकलबाट पल्टेकाहरुलाइ ट्रिपरको डालामा रहेको बालुवाले पुरेको जनाईएको छ । ट्रिपर अनियन्त्रित भएर पल्टिएपछि बालुवाले पुरिदा विवेक बराल र नेल्सन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालुवाले पुरिएका दुबैजनाको शव आधा घण्टापछि निकालिएको प्रत्यक्षदर्शीहरुले बताएकाछन् । तीनवटा जेसिभिहरु तत्काल आएर बालुवाबाट पुरिएकाहरुलाइ झिक्दा उनिहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको हो ।
मोटरसाइकल चालक प्रवेस भण्डारी घाइते रहेको बताइन्छ । उनि टाढा उछिट्टिएका कारण बालुवामा नपुरिदा बाचेको पनि प्रत्यक्षदर्शीहरुको भनाइ छ । ट्रिपर अधिक गतिमा रहेको र मोटरसाइकल चालकले बाटो काटन खोज्दा दुर्घटना भएको बताइन्छ ।










