विष्णुप्रसाद पोखरेल दमक । जिल्ला समन्वय समिति झापा कर्मचारी विहीन भएको र काम कसरी गर्ने भन्नेमा अन्योल सिर्जना भएको जनप्रतिनिधिहरुले बताएकाछन् । यहाँ रहेका कर्मचारीहरुले धमाधम रुपमा आफुलाइ अनुकुल पर्ने नगरपालिका तथा गाँउपालिकामा सरुवा गराउदै हिडेपछि जिल्ला समन्वय समिति रित्तिएको हो ।
आवश्यक सबै कर्मचारीहरुले सरुवा लिएको र अहिले कार्यालय सहयोगीहरुमात्र रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताउनु भयो । सरकारले पछिल्लो पटक यस जिल्ला समन्वय समिति (जिसस)मा १३ जना कर्मचारीको ब्यवस्था गरेको भएता पनि नयाँ एकजना पनि कर्मचारी नआएको र स्थानीय समन्वय अधिकारी समेत खाली रहदा काम गर्न समस्या भएको पोर्तेलको भनाइ रहेको छ । अहिले कार्यालयमा कर्मचारीको रुपमा १ जना लेखापाल मात्र रहेको पोर्तेलले जनाउनु भयो ।
उपसचिब, अधिकृत, खरिदार, नासु, लेखापाल, इन्जिनियर, शव इन्जिनियर, लेखापालको एकएकजनाको दरबन्दि रहेको छ । कार्यालय सहयोगी ४ र ड्राइभर दूइजनाको दरबन्दि रहेकोमा कार्यालय सहयोगीहरु पनि दोब्बर रहेको जनाईएको छ । पोर्तेलका अनुसार करारमा नियुक्त गरिएका सबै कार्यालय सहयोगिहरुको साउनदेखि करार थप नहुने भएकाले घर जानेछन् र दरबन्दि अनुसार मात्र रहनेछन् ।
दैनिक काम नै अप्ठेरो परेपछि सरुवा गरिसकेका कर्मचारीहरुलाइ समेत असार मसान्तसम्म बस्न आग्रह गरेर केहि कर्मचारीहरुलाइ राखिएको जिसस प्रमुख पोर्तेलको भनाइ छ । उहाँले भन्नुभयो, सबैजनाले आफु कहाँ जाने भनेर ठाँउ रोज्दै सरुवा गराइसक्नु भएको भएपनि असार मसान्तसम्म बस्न आग्रह गरेर राखेका छौ ।
उहाँले सरकारले स्थानीय तह भनेर संबिधानमा लेखेपनि त्यो अधिकार र कर्मचारी नरहदा प्रभावकारी हुनेमा आँशका रहेको पोर्तेलले दुखेसो गर्नु भयो । तालिम तथा छलफल र समन्वयका लागि काम गर्नका लागि धेरै अप्ठेरो झेल्नु परिरहेको जनाउदै पोर्तेलले चाँडो स्थानीय समन्वय अधिकारी पठाउन पनि सरकारसंग माग गर्नु भयो ।
असार महिनामा अत्यन्त चाप र भिडभाड हुने यो कार्यालय अहिले सुनसान रहेको छ भने सबै फाँटहरुमा रित्ता कुर्सिहरु रहेकाछन् । जिल्ला समन्वय समितिले स्थानीय तहको अनुगमन गर्न शुरु समेत गरेको थियो । १ महिना यता भने खासै केहि पनि काम हुन नसकेको जिल्ला समन्वय समितिका एक सदस्यले बताउनु भयो । उहाँका अनुसार स्थानीय तहहरुको अनुगमन गर्दा उल्टै स्थानीय तहका जनप्रतिनिधिहरु रिसाएको र सुचना दिन समेत अटेर गर्ने गरेको ति सदस्यले जनाउनु भयो ।










