पर्सा, २२ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सिंहदरबारभित्र जनताका काम नगर्ने र पन्छाउने प्रवृत्तिले देश विकास नभएको बताउनुभएको छ ।
पर्सा जिल्लाको ठोरीमा विद्युतीकरणको आज उद्घाटन गर्दै उहाँले सिंहदरबारलाई जनताकाबीचमा लैजाने प्रयास आफूले गरेको बताउनुभयो ।
‘नेपालको पानी जनताको लगानी अभियानमा लामबद्ध हुन’ उहाँले सबैलाई आग्रह गर्नुभयो ।
सो अवसरमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले ठोरीको विद्युतीकरणले समग्र पर्साको विकासमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विद्युत् चोरी नियन्त्रण गर्न जनताको साथ आवश्यक छ भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समयमै ठोरीको विद्युत् भार कटौती अन्त्य गर्ने बताउनु भयो ।



