काठमाडौं, २३ पुस । संविधान संशोधनविरुद्ध आन्दोलनरत एमालेसहित विपक्षी नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावका पक्षमा एकता’को नाम दिएर नौ दलले दोस्रो जनआन्दोलनपछि ठूलो शक्ति प्रदर्शन गरेका हुन् । रत्नपार्कबाट सुरु भएको हजार मानिस सहभागी विपक्षीको जुलुस र र्यालीले भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै एक फन्को लगाउँदा राजधानीको मूल सडकको ट्राफिक व्यवस्था तीन घन्टाभन्दा बढी अस्तव्यस्त बन्न पुगेको थियो । मूल जुलुसअघि नै काठमाडौंका ४० भन्दा बढी स्थानबाट विभिन्न जातीय भेषभूषासहित मध्याह्न १२ बजे निस्किएको जुलुुस अपराह्न १ बजे रत्नपार्कमा आएर सभामा परिणत भएको थियो । एमालेको लोकतान्त्रिक मधेसी संगठनको अगुवाइमा र्यालीमा मधेसी भेषभूषामा उल्लेख्य तराईवासीसमेत सहभागी थिए । बाजागाजा र विभिन्न संस्कृति झल्किने जुलुसमा सहभागीमध्ये पार्टी झन्डाबाहेक धेरैले राष्ट्रिय झन्डासमेत प्रदर्शन गरेका थिए । जुलुसपछि भृकुटीमण्डपको खुला सडकमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसहित नौ दलका नेताहरूले संविधान संशोधन प्रस्तावलाई राष्ट्रहितविरोधी आरोप लगाउँदै कुनै हालतमा पारित हुन नदिने घोषणा गरे । नौवटै दलका शीर्ष नेताहरूले मुलुकको राष्ट्रियता, स्वाधीनता र सार्वभौम अखण्डतामाथि इतिहासमै ठूलो चुनौती खडा भएको दाबी गरे । उनीहरूले राष्ट्रिय हितको पक्षमा सञ्चालित सदन संघर्षलाई देशव्यापी बनाउने घोषणासमेत गरे । ओलीका मुख्य तीन घोषणा १. ढुक्क हुनुस्, प्रस्ताव पारित हुन दिइन्न एमाले अध्यक्ष केपी ओलीले पहिलो पार्टीबराबरकै हैसियतमा संसद्मा राष्ट्रिय हितप्रति प्रतिबद्ध एमालेको उपस्थिति रहेको दाबी गर्दै कुनै हालतमा सीमांकन हेरफेरसहितको संशोधन प्रस्ताव पारित हुन नदिने घोषणा गरे । ‘देशभक्तिको आन्दोलनमा एमाले छ । एमालेजस्तो राष्ट्रिय हितप्रति प्रतिबद्ध पार्टी पहिलो पार्टीसरहकै हैसियतमा संसद्मा उपस्थित छ,’ उनले भने, ‘ढुक्क हुनुहोस्, राष्ट्रहितविरोधी संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिइनेछैन ।’ २. तराईमा मेची–महाकाली जागरण ओलीले सभामार्फत फागुन दोस्रो साताबाट सिंगै तराईमा ठूलो मेची–महाकाली जागरण अभियान चलाउने घोषणासमेत गरे । तराईबाट एमालेलाई खेद्ने मधेसी मोर्चाका नेताहरूको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले लाखौँको जागरण अभियानबाटै ‘हैसियत’ देखाइदिने उद्घोषसमेत गरे । ‘तराईका नाममा राजनीति गरेर त्यहाँका जनतालाई शोषण गर्न पल्केका तत्वहरूलाई एउटा कुरा भन्न चाहन्छु,’ अभियान घोषणा गर्दै उनले भने, ‘उनीहरूले जितेको ११ सिट, एमालेले जितेको ४० सिट । हामी फागुन दोस्रो साता तराईमा मेची–महाकाली अभियान लिएर तराईमा जाँदै छौँ, अहिले त ड्रोन क्यामराले आकाशबाट खिच्दै छ, त्यतिवेला सेटलाइट आवश्यक पर्नेछ ।’ तराईका जनताको देशभक्तिलाई कमजोरीका रूपमा नलिन र अलमल्याउने खेती बन्द गर्न चेतावनी दिँदै ओलीले काठमाडौं जागिसकेकाले हिमाल, पहाड, तराई सबैतिर जनप्रदर्शनलाई व्यापक बनाइने बताए । ३. लम्पसारवाद परास्त भएरै छाड्छ सत्ता टिकाउन विदेशीसामु लम्पसार परेर राष्ट्रिय स्वाधीनतामाथि नै सौदाबाजी गर्ने खतरनाक प्रवृत्ति हाबी हुन खोजेको दाबी गर्दै ओलीले एमालेले परास्त गरेरै छाड्ने घोषणासमेत गरे । ‘राष्ट्रिय स्वाधीनता समाप्त पार्न खोज्ने, भौगोलिक अखण्डतामा चुनौती थप्ने, आत्मनिर्भरतातर्फ बढ्न खोजिरहेको मुलुकलाई रोक्नेहरूको लम्पसारवाद परास्त भएरै छाड्नेछ,’ ओलीले भने, ‘मलाई विश्वास छ, देशभक्त युवा र जनताको सहभागितामा लम्पसार मूर्दावाद भन्दै उठिरहेको आन्दोलनले लम्पसारवादलाई पराजित गरेरै छाड्नेछ ।’ नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
यी हुन् शुक्रबारको शक्ति प्रदर्शनमा ओलीले गरेका घोषणा
सवाल नेपालसंवाददाताशनिबार, २२ पुस २०७३

यी हुन् शुक्रबारको शक्ति प्रदर्शनमा ओलीले गरेका घोषणा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



