काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो ।

पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गर्नु भएको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए ।

आफ्नो चीन र भारत दुवै मुलुकको भ्रमण सफल भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताए । बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । रातो पाटी बाट साभार