काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत तथा चीन भ्रमणबारे रिपोर्टिङ गर्दै भ्रमण मुलुकको हितमा भएको बताएका छन् ।
दुवै भ्रमणबाट नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उनको भनाइ थियो । भ्रमणबाट दुवै छिमेकीसँग सकारात्मक सम्बन्ध स्थापना गर्न सहयोग पुगेको र नेपालको हितमा केही सन्धिसम्झौताहरु भएको उनले बैठकमा जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेका थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको रिपोर्टिङका साथै पार्टीको नियमावलीबारे छलफल भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार राजनीतिक स्थितिको थप समीक्षाा र तीनै तहका सरकारको कामकारबाहीबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ । “संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको समीक्षा गर्न र अझ प्रभावकारी बनाउन स्थायी कमिटीको छुट्टै बैठक बस्नेछ,” उनले भने ।
बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे स्थायी समितिका सबै सदस्यले सुझाव दिएका थिए । सबै सुझावलाई ध्यानमा राखेर सचिवालयले त्यसलाई अन्तिम रुप दिने श्रेष्ठले बताए । पार्टी कमिटिको संख्या, पदाधिकारी, कसरी सबैलाई समावेश गर्ने भन्नेबारेमा सुझावहरु प्राप्त भएको उनले जानकारी दिए ।
पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ । बार्हखरी बाट










