भीमदत्तनगर, २३ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकाको– ‘ख’ गाउँमा शुक्रबार जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।

अन्दाजी पाँच वर्षको उक्त भाले हात्ती स्थानीयवासीको गहुँबारीमा मृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

“नजिकै रहेको भारतीय जङ्गलबाट आएर पुनर्वासमा मृत अवस्थामा हात्ती भेटिएको हो”, जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भन्नुभयो– “हात्तीको पेट फुलेको थियो ।” उहाँले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै बिरामी भई मरेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीलाई शुक्रबार नै कानुनी प्रक्रिया पूरा गरेर गाडिएको छ । वन अधिकृत शर्माका अनुसार हात्ती मृत फेला परेका विषयमा अनुसन्धान गर्न इलाका वन कार्यालयको टोली सक्रिय भएर लागेको छ । पुनर्वास क्षेत्रमा लामो समयदेखि भारतको दुधुवा नेसनल पार्कबाट हात्तीको बथान आवतजावत गर्ने गर्छन् ।