बिष्णुप्रसाद पोखरेल दमक । झापाको गौरीगन्ज गाँउपालिकामा वडा नं. ६ मा सोमबार एउटा अनौठो दृश्य देखियो । वडा कार्यालयमा देखिएपछि यो अनौठो दृश्यले एकक्षण त वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरुले नै छक्क परे । त्यहाँ आएका सेवाग्राहीहरुले पनि अनौठो माने ।

आदिबासी बाहुल्यता रहेको गौरीगन्ज गाँउपालिकामा विवाहपछि विवाह दर्ता तत्कालै गर्नुपर्छ भन्ने ज्ञान कमैलाइ मात्र रहेको अवस्थामा विवाह गरे लगत्तै दुलही घरमा नपुर्याइ नवदम्पती जग्गेबाट उठेर जन्ती सहित सिधै वडा नं. ६ को वडा कार्यालयमा विवाह दर्ताका लागि पुगेको यो पहिलो घटना भएको बताईएको छ । बिना दाइजो भएको विवाहलाइ सहनीय भन्दै स्थानीयहरुले प्रशंशा समेत गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२५ बर्षिय राकेशकुमार यादव र यहि उमेरकी सनिताकुमारी यादवको स्थानीय शिवालय मन्दिरमा सोमवार रीतपुर्वक विवाह भएको थियो । बेहुला बनेका राकेश बैदेशिक रोजगारमा गएर घर आएका र बेहुली बनेकी सुनिता स्थानीय एक नीजि बिद्यालयमा पढाउदै आएकी बताईएको छ । केहि बर्ष अघि देखि दुबै जनाले मन परापर भएर विवाह गर्ने सहमति भइसकेको जनाएकाछन् ।

बेहुलीका बुबाको केहि महिना अघि मृत्यु भएको र घरमा एकबर्ष सम्म छोरी नदिने भनेपछि बेहुला पक्षले भगाएर मन्दिरमा विवाह गरेको जनाईएको छ । विवाहपछि भने बेहुली पक्षले समेत विवाहलाइ स्वीकार गरेको र विवाह दर्ता गर्दा बेहुलीका काका भीम यादव समेत आउनु भएको वडा नं. ६ का वडाध्यक्ष बद्रिनारायण यादवले बताउनु भयो ।

यादवका अनुसार दुबैजना उमेर पुगेको र रीतपुर्वक विवाह गरेकाले विवाह दर्ता गराएको बताउनु भयो । बेहुलाका बुबा झर्कु यादव र बेहुलीका काका भीम यादव नै साक्षी बसेर विवाह दर्ता भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, आफ्नो कार्यालयमा मात्र नभएर जीबनमा नै यसरी जग्गेबाट उठेर या विवाहको दिन नै बेहुलाबेहुली आएर विवाह दर्ता गराएको पहिलो पटक देखेको र भोगेको हुँ ।

बेहुलाका बुबा झर्कुले आफुले समाजमा एउटा उदाहरण प्रस्तुत गरेको बताउनु भयो । दाइजो लिनलाइ मोलमोलाइ गर्ने कार्य आफुले नगरेको र केहि पनि दाइजो नलिने उहाँले घोषणा पनि गर्नु भयो । उहाँले भन्नुभयो, छोरोले मनपराएको रहेछ, मैले विवाह गराइदिएर अभिभावकको जिम्मेवारी पुरा गरेको छु । यस क्षेत्रमा यादव सुमदायमा दाइजो विहिन विवाह कमै मात्र हुने गरेको बताईएको छ

आदिबासी समुदायका नागरिकहरु सामान्यतया अप्ठेरो नपरेसम्म र कुनै समयमा सरकारी कागजपत्र बनाउनु पर्ने अवस्थामात्र विवाह दर्ता गराउन आउने चलन रहेकोमा यो उदाहरणिय भएको विवाहमा आएका जन्तीहरुले बताएका थिए । विवाहमा जन्ती बनेर आउनु भएका बद्रीप्रसाद यादवले बताउनु भयो । उहाँले आफुलाइ शुरुमा अनौठो लागेपनि जायज लागेको बताउनु भयो ।