नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानमा ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने माग उठेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले विधान र नियमावलीमा १८ बुँदे लिखित सुझाब राख्दै त्यस्तो माग गरेका हुन् ।

सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा भने उमेर हद खुला राख्न सकिने उनको सुझाब छ । तत्कालीन एमालेले नवौँ महाधिवेशनले केन्द्रीय कमिटीसहित कार्यकारी कमिटीमा ७० वर्ष पुगेपछि उम्मेदवार बन्न नपाउने विधान पारित गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उमेर हदकै कारण नेता भरतमोहन अधिकारीले महाधिवेशनबाटै अवकाश लिएको घोषणा गरेका थिए । सबै सदस्यको लिखित सुझाबका आधारमा केन्द्रीय सचिवालयले विधान र नियमावलीलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ ।

नेता भट्टराईले मोर्चा संगठनमा आबद्ध जनसंगठनका पदाधिकारीहरूको मर्यादाक्रम पार्टीको प्रदेश संगठन कमिटी सोसरह तथा केन्द्रीय कमिटी सदस्यको मर्यादा जिल्ला कमिटी सदस्य सोसरह बनाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाब राखेका छन् ।

अन्तरिम काल भएकाले प्रदेश र जिल्ला कमिटीहरू ठूलो बनाउन सकिने उनको सुझाब छ । भट्टराईले लिखित सुझाबमा प्रदेश संगठन कमिटी न्यूनतम २ सय २५ र जिल्ला कमिटी न्यूनतम १ सय ७५ सदस्यीय बनाउने गरी विधान संशोधनको सुझाब दिएका छन् । त्यस्तै, पार्टी सदस्यता शुल्क घटाइनुपर्नेलगायत सुझाब पनि भट्टराईले राखेका छन् ।