बिशेष सम्पादकीय अहिले झापामा जताततै सडक निर्माणको काम भइरहेको देख्न सकिन्छ । दिनमा मात्र होइन रातारात काम भइरहेको छ । विकासका काम हुनु नराम्रो होइन । यो अवश्य पनि सबैका लागि खुसि कै खबर हो ।
तर बिडम्बना काम बजेट सिध्याउने र पैसा कमाउने माध्यमको रुपमा हुदैछ की भन्ने देखिन थालेको छ । यसमा निर्माण ब्यवसायी, सरकारी कार्यालयका इन्जिनियरहरु, राजनीतिक दलका नेता एवै बाठा कार्यकर्ताहरु र जनप्रतिनिधिहरुको समेत नियत माथि प्रश्न गर्ने ठाँउहरु प्रशस्त देखिएकाछन् ।
पानी परिरहेको छ तर कालोपत्रेको काम भइरहेको छ । माटो माथि कालोपत्रे गर्ने काम भइरहेको छ तर इन्जिनियरहरु मौनछन् । जनप्रतिनिधिहरु मौन छन् । राजनीतिक दलहरु मौनछन् । यो बिडम्बना हो ।
बजेट सिध्याउने मात्र ध्यय भएको देखिएको छ । कालोपत्रे सडक निर्माण भएको हप्तादिन बित्न नपाउदै भत्किएपनि अहिलेसम्म कसैलाइ कार्वाही भएको सुनिएको छैन । अनुगमन गरेर त्यस्तो कार्य निरुत्साहित गर्न निर्देशन दिएको देखिएको र भेटिएको छैन ।
दुइ तीन बर्ष अघि लिइएका ठेक्काका काम देखि लिएर तत्काल सम्झौता गरेर लिइएका कामहरुमा समेत बेइमान भइरहेको छ । तर सबै रमिते बनेको अवस्था देखिन्छ । बिकासको नाममा कमाउधन्दामा अनुमनकारी र कार्यन्वयनकारी सरकारी निकायका जिम्मेवार ब्याक्तिहरु लागेकाछन् भन्ने शंका गर्ने प्रशस्त ठाँउहरु देखिएकाछन् ।
यो अवस्थाको अन्त्य हुनुपर्छ । बिकास निर्माणको गुणस्तरीयता अनुगमन हुनुपर्छ । बजेट सक्ने उदेश्यमात्र त्याग्नु पर्छ । बर्षाको र आर्थिक बर्ष समाप्तिको नाजायज फाइदा उठाउने कार्य तत्काल बन्द हुनुपर्छ ।











