काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा.कुलप्रसाद कोइराला अनुमतिविना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको स्पष्टिकरण दिएका हुन् ।
आईतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।
त्यसपछि गृहमन्त्री थापाले सो सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराएका हुन् ।
शनिबार अपरान्ह क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका उपकूलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्याएको थियो ।
गृहमन्त्री थापाले बाढि, पहिरो र डुबान पीडितलाई राहत र सेवा उपलब्ध गराउन सरकार सक्रियताका साथ लागि रहेको पनि बताए । उनले बाढि, पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार गम्भिर र सचेत रहेको पनि स्पष्ट पारे ।
गृहमन्त्री थापाले विपदका परेका जनतालाई राहत उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दैै त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको पनि बताए । विपद् व्यवस्थापनका समस्या नहोस् भनेर सरकारले करिब ५४ अर्ब बजेटको व्यवस्था गरेको पनि उनले जानकारी दिए ।
गृहमन्त्री थापाले द्धन्द्धकालका पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सरकार मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन प्रतिबद्ध रहेको पनि बताए । रातो पाटी बाट साभार










