काभ्रे, २३ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले आज आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र प्रक्रियाको समेत अवमूल्यन गरेको बताउनुभयो ।

उहाँले अब संशोधन प्रस्ताव पारित गरेरै छोड्ने समेत दाबी गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभापति देउवाले नयाँ संविधान जारी गर्न अगुवाइ गरेको काँग्रेसले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

अब कसैले रोक्दैमा र असहमति जनाउँदैमा संसद् गतिरोधमा रहन सक्दैन, उहाँले भन्नुभयो – “समय थोरै छ, काम धेरै गर्नु छ, यो काँगे्रसले पूरा गर्छ ढुक्क हुनुहोस् ।”

परराष्ट्र मन्त्री एवम् नेपाली काँगे्रसका नेता डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय सम्बन्ध सडकमा जुलुस गरेर बलियो बन्दैन, यो त कूटनीतिक पहलबाट मात्र सम्भव हुने बताउनुभयो ।

मन्त्री महतले एमालेको सडक आन्दोलनले गर्दा विदेशी समुदायको नजरमा नेपालमा आफ्नो सुरक्षा नरहेको सन्देश जाने भएकाले थप समस्या हुने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले कम्युनिस्ट पार्टी सरकारबाट बाहिरिने बित्तिकै खोक्रो राष्ट्रवाद प्रदर्शन गर्ने गरेकोे बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति शिवप्रसाद हुमागार्इं, सांसद तीर्थ लामालगायतले मन्तव्य राख्नुभएको थियो ।

सभामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र अन्य पार्टीबाट करिब ५०० जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।