रौतहट — जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
फोटोमा: रौतहटको चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा गढीमाई नगरपालीकाको प्रमुख लगायत ५ कर्मचारीलाई नियन्त्रणमा लिन गेटमा पहरा दिदै सुरक्षाकर्मी । तस्बिर–शिव पुरी/कान्तिपुर
चन्द्रपुर नगरपालिका स्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल लगायतका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।नगरपालिको चेकसहित विभिन्न कागजातहरु प्रशासनले नियन्त्रणमा लिएको छ ।
नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर गरिरहेको सुचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
‘नियन्त्रणमा लिइएकाहरुको प्रारम्भिक बयान लिएका छौँ,’ उनले भने, ‘विस्तृत विवरण अख्तियारको हेटौडा कार्यालयमा पठाउने छौँ ।’ कर्मचारीलाई तारेखमा छाडे पनि नगरपालिकाको कागजातहरु सबै अख्तियारमा पठाईने उनले जनाए ।
बिहानदेखि होटलको रुम नम्बर १११ मा मेयर यादव लगायतका कर्मचारी बसेका थिए । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई सदरमुकाम गौर पठाईएको हो । नगरपालिकाका कर्मचारीको तलबका लागि चेक काटिएको अवस्थामा फेला पारेको छ ।
नगरप्रमुख यादवले लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउन लागिएको बताए । ‘हामिले कुनै किसिमको अनियमितता गर्न लागेका होइनौँ,’ उनले भने,‘कार्यालय समय अगावै नियम अनुसार नै कार्यालयका कर्मचारीको तलब भत्ता र अन्य काम गर्न बसेका हौँ
लेखापाल मिश्र कार्यालयमा हाजिर नभएपछि नगरप्रमुख यादवलाई विभिन्न योजनाको भुक्तानीमा समस्या हुदै आएको थियो । उनले पटक पटक भुक्तानी रोक्न नहुने भन्दै लेखापाल मिश्रलाई बोलाउने गरेका थिए ।
कार्यालयकै नियमित कामका लागि लेखापाल मिश्रलाई सर्लाहीबाट बोलाएर काम गराउने क्रममा नियन्त्रणमा लिईएको हो । श्रोत : कान्तिपुर बाट साभार गरिएको










