काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले डा. गोविन्द केसीको जिद्धीले मुलुक नै बन्धक बनेको बताएका छन् । एपी वान टेलिभिजनको कार्यक्रम एपी सेन्टरमा बिहीबार सहभागी हुँदै नेता भट्टराईले केसीका सबै माग हुबहु पुरा नहुने कुरा पनि बताएका छन् ।
‘गोविन्द केसीको ढिटले नेपाल बन्धक भएको छ । उनका सबै माग हामी पुरा गर्न सक्दैनौ, माग पुरा गर्न पनि लजिक चाहियो नि जिद्धीले मात्रै हुँदैन’, भट्टराईले भने, ‘माथेमा आयोगले पाँचवटा भन्दा मेडिकल कलेज खोल्न नदिने प्रतिवेदन कुन लजिकमा दियो ? हामी सातवटा प्रदेशमा एक एकवटा सरकारी मेडिकल कलेज लगानीमा खोल्ने तयारीमा छौँ, तर यहाँ एकजनाका कारण मुलुक नै बन्धक हुने अवस्था आएको छ ।’
अहिलेका समस्या समाधानका लागि डाक्टर केसीले आफ्नो ढिट त्याग्नुपर्ने भट्टराईलले बताए । ‘गोविन्द केसीको ढिटले समस्या भएको छ । गोविन्द केसीले डिन र रेक्टर बनाउने होइन’, उनले भने, ‘त्यो काम त त्रिभुवन विश्वविद्यालयको हो । मापदण्ड पुरा गरेको छैन भने मेडिकल कलेजलाई मान्यता दिनै हुँदैन । हामी त्यो कुरामा सचेत छौँ ।’
भट्टराईले दम्भले होइन, तर्कसहित कुनै पनि कुरामा अडान राख्नुपर्ने बताए । ‘हामी अहिले पनि गोविन्द केसीका हुबहु माग पुरा गर्न सक्दैनौँ’, उनले भने, ‘हामीले यो कुरा दम्भले होइन, तर्कसहित भनेका छौँ ।’
भट्टराईले केसीका सबै माग पुरा हुनै नसक्ने पनि बताए । ‘केसीका सबै कुरा भनेको हामी मान्दैनौँ, गोविन्द केसीको कुरा सतप्रतिशत सही भने उनले कांग्रेसलाई किन भोट मागेर हिँडे ?’, भट्टराईले भने, ‘थेसिस छ एन्टी थेसिस पनि छ, यो कुरा हामीले बुझ्न जरुरी छ ।’
भिडियो










