काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
शुक्रबार गंगालाल हृदयरोग केन्द्र पुगेर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिएका हुन् ।
रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट–२ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।










