शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूहरु डा. गोविन्द केसीसँग वार्ताका लागि तयार भए पनि वार्ताका लाजि जुम्ला नपुग्ने स्पष्ट पारेका छन्।

काठमाडौंमा शुक्रबार भएको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री पोखरेलले भने, ‘सरकार वार्ताका लागि तयार छ, तर वार्ता जुम्लामा होइन काठमाडौँमा हुनुपर्छ।’

शिक्षामनत्री पोखरेलले अहिले वार्ता भन्दा पनि डा. केसीको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले भने, ‘अनसनले गर्दा उहाँको स्वास्थ्य अवस्था कमजोर भएको छ, ‘स्वास्थ्य कमजोर भएका बेला वार्ता गर्ने होइन, उपचार गर्ने हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री पोखरेलले डा. केसीलाई उपचारक लागि बल प्रयोग गरेरै भए पनि काठमाडौँ ल्याइने बताए।

‘डाक्टर केसीलाई समयमै राजधानी ल्याउन सबैले पहल गरौँ, ढिलाइ भयो भने उहाँको स्वास्थ्य झन् विग्रन्छ’, उनले भने, ‘उहाँले अडेर गरे जबर्जस्ती गरेर भए पनि काठमाडौँ ल्याउनुपर्ने हुन्छ, त्यतिबेला पत्रकार साथीहरुले सरकारले बल प्रयोग गर्यो भनेर लेख्न पाउनुहुन्न।’

शिक्षामन्त्री पोखरेलले देश एकतर्फ बाढी पहिरोबाट आक्रान्त भएको बेला केसीले आन्दोलनले थप समस्या निम्ताएको बताए।

‘अनसनले गर्दा डा. केसी बिरामी हुनुहुन्छ, स्वास्थ्यकर्मीहरुलाई डाक्टर केसीको उपचारमा पठाउने कि बाढी पहिरोमा परेका जनतालाई उपचार गर्न पठाउने? सरकारले के गर्ने?’, उनले प्रश्न गरे। नेपाल खबर बाट