चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्ला पुगेर डा गोबिन्द केसीले गरेको अनसन र चिकित्सा शिक्षा सम्बन्धी विधेयकका कारण मार्सी चामल अझै चर्चामा छ। अस्पताल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा ६ फागुन (०७४) मा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मार्सी चामलको भात खाँदै पार्टी एकताबारे वार्ता गरेपछि मार्सी धान-चामल अधिक चर्चामा आएको हो।

अधिक चर्चामा रहेको मार्सी मूल्यका हिसावलेपनि उतिबेलैदेखि महत्वपूर्ण रहेछ। यसै सम्बन्धमा बिसं १९९६ को गोरखापत्रमा धान–चामलको तत्कालिन भाउबारे दिइएको जानकारीमा मार्सी धान-चामलको मूल्य सुरुमा नै उल्लेख भएको जानकारी गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले विहीबार सार्वजनिक गरेका छन्। गोरखापत्रमा तत्कालिन सदरभाउ अनुसार मार्सी धान सुरुमै उल्लेख गरिएको देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतिसम्म भने, प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतकी महारानीलाई उपहार दिन मार्सी धानको चामल रोजेका रहेछन्। बेलायत भ्रमणमा रहेका जंगबहादुरसँग बेलायती महारानीले नेपाली संस्कृति अनुसारको उपहारको अपेक्षा गरेपछि जंगले मार्सी धानको चामल मगाएको इतिहासकार प्रा डा त्रिरत्न मानन्धर बताउँछन्।

डा मानन्धरका अनुसार बेलायत भ्रमणमा जाँदा जंगले बेलायती महारानीका लागि गैँडाको खाग, हात्तीका दारा, खिनखापको कपडा जस्ता सामाग्री लिएर गएका थिए। जंगबाट यी उपहार प्राप्त गरेपछि महारानीले भनिछन्, ‘मलाई नेपाली संस्कृति हेर्न मन छ, तपाईंले उपहार पनि सोही अनुकूलकै ल्याएको भएपनि हुने...।’

‘त्यसपछि जंगबहादुरले महारानीलाई उपहारका लागि भनेर बेलायत सूची बनाएर केही सामान मगाए’, डा मानन्धरले भने, ‘बेलायती महारानीलाई उपहार दिने सामाग्रीको सूचीमा ६–७ प्रकारका चामलपनि थिए, तिनमा मार्सी, मसिनो, टौली, मनसरा लगायतका धानका चामलपनि थिए। यसबाटपनि मार्सी चामलको महत्व कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ।

नेपाल तथा दक्षिण एसियाली केन्द्र (सिनास) को एउटा प्रकासनमा इतिहासकार डा मानन्धरले नेपालको सौगात बेलायतलाई शीर्षकमा लेख लेखेका छन् र त्यसमा यो कुरा उल्लेख छ। यसबाहेक इतिहासकार डा मानन्धरले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा जंगबहादुर’ मा समेत यो कुरा उल्लेख गरेका छन्। नेपाल खबर बाट