काठमाडौं, असार २९ । खानेपानी मन्त्री बीना मगरको निर्देशनमा भक्तपुरका बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ ।
बुधबार रातिदेखि भएको अविरल वर्षासँगै आएको बाढीले विशेष गरी भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान सृजनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।
दुई शिफ्टमा गरी केयुकेएलका ४० वटा ट्यांकरले प्रभावित क्षेत्रका टोल–टोलमा खानेपानी वितरण गरेको खानेपानी मन्त्री मगरको स्वकीय सचिव रमेश भट्टले एभरेष्टदैनिकलाई जानकारी दिए । भट्टका अनुसार मन्त्रीले डुबानबारे जानकारी पाउँनसाथ बसेका माताहातका निकायलाई प्रभावित क्षेत्रमा स्वचछ खानेपानीको व्यवस्था गर्न निर्देशन दिएकी थिइन ।
खानेपानी शुद्धिकरणका लागि खानेपानी मन्त्रालयले बिहीबार नै पियूष, क्लोरिन लगायतका सामग्री प्रभावित क्षेत्रमा पर्याएको थियो । भने आजबाट खानेपानी वितरण शुरु गरिएको भट्टले बताए । साथै पानी वितरणको काम प्रभावित क्षेत्रका अवस्था सामान्य नभएसम्म जारी रहने बताइएको छ ।
सरकारले ट्यांकर टोलटोलमा पठाएर खानेपानी वितरण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेकी छन् । उनीहरुले सरकारी निकायबाट बाढी प्रभावित क्षेत्रमा यति छिटो खानेपानी वितरण गरेको पहिलो पटक भएको भन्दै मन्त्री विना मगरको प्रंशसा गरेको भट्टले बताए ।










