सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।
उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन्। यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो। संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए।
उनका अनुसार प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नंं २ मा दुई हजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, प्रदेश नं ४ मा दुई हजार २४७, प्रदेश नंं ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एक हजार ८४२ र प्रदेश नंं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ। प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ। उनले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दीे अझै टुङ्गिएको छैन्।
अहिले करीब एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन्।










