दुर्गा प्रशाइ

किसानकै छोरा र किसानको भलो गर्ने भन्दै लामो संघर्ष गरेका पार्टी अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै बसेर मार्सीको भात खाएकोमा शहरका ‘सुकिलामुकिला’ डलरको खेती गर्नेहरुलाई खपिनसक्नु भएको छ । त्यसैले त जताततै छेर्ने र छाद्ने काम गरिरहेका छन् ।

मैले विदेशी डलरको खेती गरेर किसानका छोराहरु, किसान, उत्पीडित वर्ग समुदायका आदर्श नेतालाई मार्सीको भात खुवाएको/खाएको हैन ।  मार्सीको चामल नेपालकै किसानको उत्पादन हो, विदेशी उत्पादन होइन । विदेशबाट किनेर ल्याएको पनि यो होइन । आफूले आफ्नो काम गराइदिने शर्त/स्वार्थमा समकालीन नेपालको राजनीतिमा जनताले सबैभन्दा मानेका/पत्याएका नेताद्वयलाई खुवाएको नभई श्रद्धापूर्वक आफूले सँगै बसेर खाँदा गर्व महसुस गरेर सामाजिक सञ्जालमा फोटो हालेकोमा तिनै ‘सुकिलामुकिला’ हरुले निकै हल्ला पिटेकोमा मलाई आश्चर्य लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मैले सुनेको थिएँ, मार्सी चामलको भात उत्पादन गर्ने किसानको भान्छा वा राजामहाराजाका भान्छा वा विदेशी डलरको खेती गर्नेको काठमाडौंका महलका भान्छामा मात्र पाक्छ, यस्तो नयाँ कुरा जो नेपाली किसानले नै उत्पादन गर्ने हो, हाम्रा आदर्श नेतासँगै बसेर खाऔं न त भन्दा यति ठूलो होहल्ला ? किसानका छोरा, किसानका नेता, हामी आफ्नै पाखुरीमा विश्वास गर्नेले मार्सीको भात खाँदा किन कोकोहोलो ?

मैले र मेरो पुर्खाले विदेशी अजेण्डा नेपालमा लाद्न कहिलै विदेशी डलर खाएको छैन । आफ्नै देशमा जनताको सेवासँग जोडिएर नेपालको कानुन, संविधानले दिएको अधिकारलाई मानेर व्यवसाय गर्न खोज्दा विदेशी डलरको खेती गर्नेहरुले यति धेरै लखेटेको देख्दा लड्ने साहस आफूलाई थप पैदा भएको छ । 

राजामहाराजाको छत्रछायाँमा बसेर तिनकै दानापानी खाएर हुर्किएका, अहिले विदेशी डलर लिएर मानवअधिकार, नागरिक समाजका नाममा अराजकता मच्चाउँदै हिंडेकाहरुले मलाई कसरी समाज वहिस्कार गर्ने होला ? कनकमणिले मलाई सामाजिक वहिस्कार गर्नुपर्छ भनेर ट्वीट अभियान चलाएका छन् ।

मैले देशको नियम, कानुन मानेर व्यवसाय गर्न खोज्दा, मैले मेरा आदर्श नेतासँग बसेर खाँदा र फोटो खिच्दा, अनशनको दवावमा जनताको मतबाट आएको लोकतान्त्रिक सरकार झुक्नु हुँदैन, अनशनकारीको नाजायज दवावमा पर्नुहुन्न भन्दा के मैले राष्ट्र र जनताको विरोधमा अपराध गरेको हो र सामाजिक वहिस्कार गर्नुपर्ने ?

(प्रशाइको फेसबुक वालबाट लिइएको हो ।)